काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले झापाको गिरीबन्धु टी इस्टेट जग्गा प्रकरणमा पीडितको उजुरी आए फाइल खुल्ने बताएका छन्। सोमबार साँझ मन्त्रालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उजुरी अख्तियार, प्रहरी प्रशासन वा मन्त्रालयमा लिखित रूपमा आउनुपर्ने बताए।
उनका अनुसार, गिरीबन्धु टी इस्टेटले चिया बगानको नाममा हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गरेको, बैना संकलन गरिएको र सोही बैना निर्णय प्रक्रिया वा घूसका रूपमा प्रयोग भएको आशंका छ। अर्यालले मन्त्री भएर आफैं उजुरी हाल्न नसकिने स्पष्ट पार्दै भने, “पीडित वा घटनाको साक्षी भएका व्यक्तिहरूले प्रमाणसहित उजुरी दिनुपर्छ।”
गृहमन्त्री अर्यालले अहिलेको राज्य संयन्त्रले बिना अवरोध छानबिन अघि बढाउने अवस्था रहेको दाबी गरे। उनले भने, “जसले देखेको, भोगेको वा ठगिएको छ, उसैले राज्य संयन्त्रमा ल्याउनुपर्छ।”
यो प्रकरणमा भूमिसम्बन्धी कानुन संशोधन गरेर जग्गा सट्टाभर्ना सम्बन्धी निर्णय गरिएको थियो। सर्वोच्च अदालतले कानुन व्यवसायी रहँदा अर्यालकै नेतृत्वमा दायर मुद्दामा ओली सरकारको निर्णय खारेज गरिसकेको छ। यदि फाइल खुलेमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली समेत अनुसन्धानको दायरामा आउन सक्ने आँकलन गरिएको छ।
गिरीबन्धु प्रकरण विशेषगरी बिर्तामोड र अर्जुनधारा नगरपालिकाको क्षेत्रमा पर्ने जमिनको सट्टापट्टा, बैना संकलन र कानुनी प्रक्रिया लत्याइएको विषयमा केन्द्रीत छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्