काठमाडौं : चर्को असन्तुष्टि सम्बोधन हुने छाटकाँट नदेखिएपछि एकीकृत समाजवादी विभाजनको संघारमा पुगेको छ ।
पार्टीका बहुसंख्यक सांसद र केन्द्रीय सदस्य पार्टीबाट विद्रोह गर्ने तयारीमा छन् । पार्टीको अभिभावक बन्नुपर्ने अध्यक्ष नेपालले नै साथ छाडेको भन्दै असन्तुष्ट नेताहरू एमालेमै फर्किने तयारीमा लागेका हुन् । अध्यक्ष नेपालले पदाधिकारीमा पराजित गराइएका नेताहरू एमालेमा फर्कन प्रयासरत रहेको आरोप लगाउने गरेका छन् ।
विभिन्न परिस्थितिमा एमाले छाडेकाहरूमध्ये केही पहिल्यै एमालेमा फर्किसकेका छन् भने अरू केही नेता त्यही पुरानो घर फर्कन चाहिरहेका छन् । निर्वाचनमा पराजित केही चर्चित अनुहारहरू एमालेसँग नजिकिएका छन् । महिला उपाध्यक्षमा पराजित झाँक्री विगतदेखि एमालेसँग निकै नरम देखिँदै आएका थिए। केही दिनअघि मात्रै पनि सामाजिक सञ्जालमा झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा स्टाटस लेखेका थिए ।
सांसदसमेत रहेका एकीकृत समाजवादीका नेता प्रेम आले अहिले पार्टीको केन्द्रीय कमिटीमा समेत छैनन् । उनी पनि एमालेमै फर्किने तयारीमा रहेको नेताहरूको बुझाइ छ । विगतमा पार्टी छाडेर अहिले फर्कन चाहनेहरूलाई एमालेले भने खासै भाउ दिएको छैन । आफैँ आएको खण्डमा स्वागत गर्न तयार रहे पनि पार्टीमा भित्र्याउन धेरै पहल नगर्ने एमालेको रणनीति छ ।
एकीकृत समाजवादीका नेताहरू एमालेमै फर्किन खोज्नु भने सकारात्मक रहेको एमाले नेताहरू बताउँछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया