थुलुङ दुधकोशी गाउँपालिकामै स्वदेशी ढाका उत्पादन सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८० भाद्र २२

थुलुङ दुधकोशी गाउँपालिकाले स्थानीय उत्पादनलाई बढावा दिने क्रममा गाउँमै स्वदेशी ढाका उत्पादन गर्ने कार्यको सुरुवात गरेको छ । गाउँपालिकाको अनुदान सहयोगमा वडा नं. ७ मा स्वदेशी ढाकाबाट रुमाल तथा अतिथि सत्कारमा प्रयोग गर्न सकिने मफलरसहित सर्ट, चोली, साडिलगायतका सामाग्री उत्पादन भइरहेको सो वडाका वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष असिम राईले स्थानीय उत्पादनहरुलाई बढावा दिने गाउँपालिकाको नीतिअनुरुप अब गाउँमै यसरी स्वदेशी ढाकाबाट विभिन्न सामाग्री तयार हुने भएपछि आयातित खदा लगायतलाई विस्थापित गर्नुका साथै आन्तरिक आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सानै भएपनि अब शुरु गरौं भन्ने आह्वान गर्दै अध्यक्ष राईले आफ्नो फेसबुक वालमा लेख्नुभएको छ ”कृषि प्रधान देशमा धनिया, गोलभेडा, खुर्सानी, लसुनदेखि दाँत कोट्याउने बाँसको सिन्कासम्म आयात गर्छौं । कम्पुटर, मोबाइल, गाडी अन्य उपकरणहरु त विदेशी प्रयोग गर्छौं । हामीले उत्पादन र निर्माण गर्न नसक्ने ठूला ठूला चिजहरु त आयात गरौं तर, सामान्य चिजहरु जुन सहज उत्पादन गरेर प्रयोग गर्न सकिन्छ कम्तिमा त्यस्ता वस्तुहरु त स्वदेशी प्रयोग गरौं ।”

परनिर्भर र उपभोक्तावादी मानसिकताले नेपालीहरु हरेक कुरामा पछि परिरहेको भन्दै उहाँले त्यसैमा थप्नुभएको छ, ”देश खत्तम भो । नेताहरु चोर हुन् । कर्मचारी भ्रष्ट, व्यपारी सबै दलाल, सबै सकियो, भत्कियो, नासियो भनेर निराशा र नकरात्मकताको खेती अब बन्द गरौं । केही न केहि त राम्रा पनि भएकै छन्, हुनेछन् । लौ अब हामी आफैले शुरु गरौं ।”

स्थानीय उत्पादनमा जोड दिइएको उल्लेख गर्दै ढाका उत्पादनलाई व्यवसायिक रुप दिदै आफ्नै ट्रेडमार्कमा बजारीकरण गर्न स्थानीय सरकारले पहल लिने वडा अध्यक्ष कार्कीको भनाइ छ । उहाँकाअनुसार अहिले १५ जना दिदिबहिनीहरुले रोजगार पाइरहेका छन् । यसलाई निकट भविष्यमै उद्योगको रुपमा अगाडि बढाएर रोजगारी सिर्जना गर्ने तयारी गरिएको वडा अध्यक्ष कार्कीको भनाइ छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *