नुवाकोट र रसुवामा राहत भण्डारण, गाडी नपुग्ने क्षेत्रमा हेलिकोप्टरबाट ढुवानी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २३

काठमाडौँबाट सडकमार्ग हुँदै पठाइएको राहत सामग्री नुवाकोटका तीन स्थानमा भण्डारण गरिएको छ । राहत सामग्री नुवाकोटस्थित नम्बर–१ सैन्य तालिम केन्द्र, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा स्टोर गरिएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवाको धुन्चेमा पनि राहत सामग्री भण्डारण गरी आवश्यकताअनुसार प्रभावित क्षेत्रमा वितरण भइरहेको छ ।

नुवाकोटमा हालसम्म १ लाख ६९ हजार किलो चामल, ३१ हजार ४२८ किलो दाल, १५ हजार ८५९ लिटर तेल र २४ हजार ८३७ किलो नुन पठाइएको छ । त्यस्तै, रसुवामा ७० हजार किलो चामल, १५ हजार ८१० किलो दाल, १६ हजार २०९ लिटर तेल र ८ हजार २२८ किलो नुन पठाइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार राहत वितरणलाई व्यवस्थित बनाउन ‘रिलिफ ट्रयाकिङ सिस्टम’ सञ्चालनमा ल्याइएको छ । विमानस्थलमा रहेको राहत सामग्री कहाँ पुग्यो र कति वितरण भयो भन्ने विवरण प्रणालीमार्फत निगरानी भइरहेको उनले बताइन् ।

सडक पहुँच नभएका क्षेत्रमा भने हेलिकोप्टरमार्फत राहत पठाइएको छ । सोमबार रसुवा र नुवाकोटका गाडी नपुग्ने क्षेत्रमा दुई हेलिकोप्टरबाट राहत सामग्री ढुवानी गरिएको प्राधिकरणले जनाएको छ ।

काठमाडौँबाट पठाइएको राहतमध्ये रसुवामा २० हजार किलो र नुवाकोटमा ६६ हजार ८७१ किलो चामल प्रभावितकहाँ पुर्‍याइएको छ । गोसाइँकुण्ड र उत्तरगयाका अधिकांश क्षेत्रमा आवश्यकताअनुसार हेलिकोप्टरबाट राहत पठाउने गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका उपसचिव राम केसीले हेलिकोप्टरबाट राहत ढुवानीमा केही कठिनाइ भए पनि अभाव नरहेको बताए । स्थानीय तहबाट माग संकलन गरी जिल्ला विपद् व्यवस्थापन समिति हुँदै प्राधिकरणमा पठाउने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *