नुवाकोट । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवासँगै नुवाकोटमा पनि ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीमा परी धेरैले ज्यान गुमाएका छन् भने ठूलो संख्यामा नागरिक घाइते भएका छन्। भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ।
बाढीले नियमित आवतजावतका पुल तथा सडक बगाएपछि नुवाकोटका त्रिशूली नदी तटीय क्षेत्रको जनजीवन प्रभावित बनेको छ। बाढीका कारण सडक तथा पुलबाट आवतजावत गर्न नसकिने भएपछि अहिले नदीमा तुइन जडान गरिएको छ।
नुवाकोटको विदुर नगरपालिका–१ र ९ नम्बर वडा जोड्ने गरी त्रिशूली नदीमा तुइन जडान गरिएको हो। सर्वसाधारणलाई आवतजावतमा सहज होस् भन्ने उद्देश्यले मंगलबार बिहान तुइन जडान गरिएको जनाइएको छ।
बाढीपछि सडक तथा पुलको सम्पर्क टुट्दा स्थानीयवासीलाई दैनिक आवतजावतमा समस्या हुँदै आएको थियो। तत्कालका लागि तुइन जडान भएपछि नदी वारपार गर्न सहज हुने अपेक्षा गरिएको छ।
बाढीबाट प्रभावित नागरिकहरू भने अझै उपचार, राहत तथा पुनःस्थापनाको पर्खाइमा छन्। क्षतिग्रस्त सडक, पुल तथा अन्य पूर्वाधार पुनर्निर्माण नहुँदासम्म तुइन स्थानीयवासीका लागि आवतजावतको अस्थायी माध्यम बनेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्