‘कक्रोच जनता पार्टी’ बदलिँदो युगको नयाँ राजनीतिक भाषा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ८

काठमाडौं । भारतको राजनीतिक तथा सामाजिक बहसमा पछिल्ला दिनहरूमा एउटा अनौठो प्रतीकले प्रवेश गरेको छ ‘कक्रोच’। भारतका प्रधानन्यायाधीश सूर्यकान्तले बेरोजगार युवाहरूलाई लक्षित गर्दै दिएको एउटा टिप्पणीपछि सामाजिक सञ्जालमा ‘कक्रोच जनता पार्टी (सीजेपी)’ नामक अनलाइन आन्दोलन सुरु भएको हो ।

एक सुनुवाइका क्रममा प्रधानन्यायाधीश सूर्यकान्तले पत्रकारिता र एक्टिभिज्ममा लागिरहेका बेरोजगार युवाहरूलाई ‘कक्रोच’ र ‘परजीवी’सँग तुलना गरेको भनिएको थियो । उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा व्यापक आलोचना सुरु भयो । पछि उनले आफ्नो टिप्पणी सम्पूर्ण युवाप्रति नभई ‘नक्कली र आधारहीन डिग्री’ भएका केही व्यक्तिहरूतर्फ लक्षित रहेको स्पष्ट पारे ।

तर तबसम्म सामाजिक सञ्जालमा ‘कक्रोच जनता पार्टी’ नामक व्यंग्यात्मक अभियान सुरु भइसकेको थियो । यो कुनै औपचारिक राजनीतिक दल होइन, बरु युवाहरूको निराशा, आक्रोश र व्यंग्य मिसिएको डिजिटल आन्दोलन हो ।

सीजेपीले आफ्ना सदस्यताका सर्तहरू नै व्यंग्यात्मक शैलीमा सार्वजनिक गरेको छ । त्यसमा बेरोजगार हुनु, सधैँ अनलाइन रहनु, अल्छी हुनु र ‘व्यावसायिक रूपमा भडास निकाल्न सक्ने क्षमता’ हुनुपर्ने उल्लेख गरिएको छ। केही दिनमै यस अभियानले सामाजिक सञ्जालमा लाखौँ समर्थक जोडेको छ ।

यो अभियान राजनीतिक सञ्चार रणनीतिकार तथा बोस्टन विश्वविद्यालयका विद्यार्थी अभिजीत दीपकेले सुरु गरेका हुन्। उनका अनुसार, यो सुरुमा केवल मजाकका रूपमा सुरु गरिएको थियो ।

तर राजनीतिक विश्लेषक योगेन्द्र यादव भने यसलाई सामान्य मजाकका रूपमा मात्र लिन नहुने बताउँछन् ।

उनका अनुसार, “चुट्किला र व्यंग्य प्रायः समाजभित्रको गहिरो पीडाबाट जन्मिन्छन् । जब व्यवस्थाका स्थापित बाटाहरू बन्द हुन्छन्, तब जनताले नयाँ अभिव्यक्तिको माध्यम खोज्छन् ।”

यादवले सीजेपीलाई युवाहरूको निराशा, असन्तोष र विद्रोहको संकेतका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार, सामाजिक सञ्जालमा सुरु भएको यो आन्दोलनले राजनीतिक प्रणालीप्रति युवाहरूको बढ्दो अविश्वासलाई उजागर गरेको छ।

उनी भन्छन्, “तानाशाही प्रवृत्तिका सरकारहरू सबैभन्दा बढी चुट्किलासँग डराउँछन्। यदि सरकार कुनै व्यंग्य सहन सक्दैन भने अन्ततः ऊ आफैँ व्यंग्यको विषय बन्छ।”

सीजेपीसँग सम्बन्धित एक्स (पूर्व ट्विटर) ह्यान्डलमाथि लगाइएको प्रतिबन्धलाई यादवले गम्भीर राजनीतिक संकेतका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार, यदि यसलाई स्वतन्त्र रूपमा छोडिएको भए सायद युवाहरूको आक्रोश सामाजिक सञ्जालमै सीमित रहन्थ्यो। तर प्रतिबन्धले त्यसलाई अझ व्यापक बहसको विषय बनाएको छ ।

यादवले भारतीय राजनीतिक इतिहासका विभिन्न आन्दोलनहरूको उदाहरण दिँदै शक्तिशाली सरकारहरूविरुद्ध असन्तोष प्रायः अप्रत्याशित रूपमा सतहमा आउने गरेको बताए । उनले सन् १९७४ को जयप्रकाश आन्दोलन, १९८३ को असम आन्दोलन, २०११ को अन्ना आन्दोलन तथा किसान आन्दोलनलाई त्यसका उदाहरणका रूपमा उल्लेख गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *