काठमाडौं । घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लिग–टु शृङ्खलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ ।
नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४१ ओभर २ बलमा १९५ रन बनाउँदा सबै विकेट गुमायो । अमेरिकाका सञ्जय कृष्णमूर्तिले ५६ रन बनाए । नेपालका सन्दीप लामिछानेले ३ तथा ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, गुल्शन झाले २/२ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनायो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिपुरमा अहिलेसम्मकै धेरै रन बनाएको हो । यसअघि सन् २०२३ मा नेपालले ओमानसँगको खेलमा ३१० रन बनाएको थियो ।
आजको खेलमा नेपालका ईशान पाण्डेले ८४, दीपेन्द्रसिंह ऐरीले ५९, कप्तान रोहित पौडेलले ४६, आसिफ शेखले ४३ रन बनाए । अमेरिकाका शुभम् रन्जनेले ३ विकेट लिए । यही शृङ्खलाबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका ईशानको यो लगातार दोस्रो अर्धशतक हो ।
कीर्तिपुरमा भएको लिग–टु शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी थिए ।
लिग–टु तालिकामा नेपाल २८ खेलमा २४ अङ्कसहित पाँचौँ स्थानमा छ । अमेरिका २८ खेलमा ३८ अङ्कसहित शीर्ष र स्कटल्यान्ड ३२ खेलमा ३८ अङ्कसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्