गायक तथा अभिनेता प्रशान्त तामाङको निधनप्रति भारतीय प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २९

काठमाण्डौँ । गायक तथा अभिनेता प्रशान्त तामाङको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।

उनले प्रशान्त तामाङकी श्रीमती मार्था एलीलाई सोमबार शोकपत्र पठाउँदै प्रशान्तको निधनले अपूरणीय क्षति भएको जनाएका छन् ।
मोदीको शोकपत्रलाई भारतीय जनता पार्टीका सांसद तथा बीजेपीका राष्ट्रिय प्रवक्ता राजु विष्टले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । पत्रमा मोदीले प्रशान्तको गायन र अभिनय कलाको प्रशंसा गरेका छन् ।

मोदीले स्वर्गीय प्रशान्त तामाङलाई सम्झँदै भनेका छन्, आफ्नो मधुर गायन र उत्कृष्ट अभिनयमार्फत प्रशान्त तामाङ जीले मनोरञ्जन जगतमा आफ्नै पहिचान बनाउनुभयो । दृढ संकल्प र अपार प्रतिभाको प्रतीकका रूपमा उहाँले करोडौंको हृदय छुनुभयो।

उनले प्रशान्त अनगिन्ती मानिसहरूका लागि प्रेरणाको स्रोत भएको बताएका छन् ।

प्रशान्तको जीवन यात्राले युवालाई सपनामा विश्वास गर्न र कडा परिश्रम गर्न प्रेरित गर्ने उनले उल्लेख गरेका छन् ।

लेखेका छन्, प्रशान्त तामाङको जीवन यात्रा आफ्ना सपना उहाँकै कथामा देख्ने असंख्य मानिसका लागि प्रेरणास्रोत हो। उहाँको संघर्षपूर्ण जीवनले युवापुस्तालाई सपना देख्न र ती पूरा गर्न कडा परिश्रम गर्न उत्प्रेरित गर्छ।

यसअघि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि प्रशान्तको निधनमा दुःख व्यक्त गरेकी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *