चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २७

काठमाण्डौँ । आइतबार हृदयघातका कारण निधन भएका अभिनेता प्रशान्त तामाङ चर्चित गायक तथा अभिनेता हुन् ।

तामाङले भारतीय टेलिभिजन च्यानल सोनी इन्टेर्टेन्मेन्ट टिभीको रियालटी शो ‘इन्डियन आइडल २००७’ बाट चर्चा कमाएका थिए ।

उक्त शो विजेता समेत बनेका उनी भारतीय प्रहरीका पूर्व जवान पनि हुन् । शोमा सहभागी भएको समय उनी प्रहरीमै कार्यरत थिए । तामाङका पिताको प्रहरीमै रहेका बेला सवारी दुर्घटनामा निधन भएपछि उनलाई कोलकात्ता प्रहरीमा उक्त जागिर गर्ने अवसर प्राप्त भएको थियो । प्रशान्तको जन्म भारतमा दार्जिलिङको तुङ्सुङ भन्ने ठाउँमा भएको थियो ।

जिन्दगीमा कहिल्यै औपचारिक रूपमा सङ्गीतको शिक्षा हासिल नगरेका उनले ‘इन्डियन आइडल’ जितेपछि गायन सुरु गरेका थिए । इन्डियन आइडल जितेपछि पहिलो पटक नेपालको पोखरा र काठमाडौँका कन्सर्ट गरेका उनले नेपाली फिल्म ‘गोर्खा पल्टन’बाट अभिनय सुरु गरेका थिए ।

त्यसपछि उनी नेपाली फिल्म ‘परदेशी’ र ‘परदेशी २’ मा देखिए । उनको पछिल्लो नेपाली फिल्म ‘परदेशी २’ हो । उनी अभिनीत तीन वटै नेपाली फिल्म हिट मानिन्छ ।

उनले अभिनय गरेका नेपाली फिल्म ‘परदेशी’ र ‘परदेशी २’का निर्माता राजेश बंशलका अनुसार उनी अहिले सलमान खान अभिनीत फिल्म ‘ब्याटल अफ गलवान’ मा काम गरिरहेका थिए । फिल्ममा उनले चाइनिज आर्मीको भूमिका निर्वाह गरेका छन् । फिल्ममा उनको डबिङ बाँकी नै छ ।

बंशलका अनुसार तामाङ एक सहयोगी, मिलनसार र मिहिनेती व्यक्ति थिए । सबै कुरोलाई पोजेटिभ रूपमा मात्र हेर्न उनको बंशलसँग केही दिनपछि भेट्ने कुरो थियो । तर आज अचानक मृत्युको खबर सुन्दा आफूलाई निकै दुखी बनाएको बंशलले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *