काठमाण्डौँ । भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई सोमबार अमेरिकाको सङ्घीय न्यायाधीश समक्ष उपस्थित गराइने भएको छ ।
सीबीएस न्यूजका अनुसार यी दुई जनाले लागूऔषध र आतंकवादको आरोप सामना गर्नेछन् । अमेरिकी अधिकारीहरूले यो मुद्दाको सुनुवाइ न्यूयोर्कको दक्षिणी जिल्लामा हुने पुष्टि सोमबार गरेका छन् ।
मादुरो र उनकी श्रीमती सोमबार स्थानीय समयअनुसार दिउँसो १२ बजे सङ्घीय अदालतमा उपस्थित हुने एक प्रवक्ताले भनेका छन् । मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले शनिबार पक्राउ गरेर अमेरिका लगेका थिए । सो घटनापछि अदालतमा उनीहरूको यो पहिलो उपस्थिति हुनेछ ।
मादुरो र फ्लोरेसलाई काराकसबाट पक्राउ गरिएको थियो । गुप्तचर एजेन्सी र अमेरिकी कानुन प्रवर्तन एजेन्सीहरूको संयुक्त अपरेसनमा दुई जनालाई देशबाट बाहिर लगिएको थियो । दुवै जनालाई शनिबार दिउँसो न्यूयोर्क पुर्याइएको थियो । मादुरोलाई शनिबार ब्रुकलिनको सङ्घीय जेल मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको थियो । सीबीएस न्यूजका अनुसार शनिबार रातिसम्म उनलाई छुट्टै विङमा राख्ने सम्भावना कम थियो । उनकी श्रीमतीको नजरबन्दको स्थिति अज्ञात थियो ।
न्यूयोर्कको दक्षिणी जिल्लामा मादुरो, उनको परिवार र मन्त्रिपरिषद् सदस्यहरूमाथि दायर गरिएको अभियोगमा मादुरोलाई लागूपदार्थ–आतङ्कवादमा संलग्नता र कोकेन आयात गर्ने षड्यन्त्रको आरोप लगाइएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्