
राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालले कोरोना महामारीले मानवीय क्षति झन् बढ्न सक्ने आशङ्का व्यक्त गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) का विभिन्न प्रजातिका भाइरस देखा परि संक्रमणको जटिलता र मानवीय क्षति झन् बढ्न आशङ्का कायम गरेको संघले जनाएको छ । स्वास्थ्यकर्मी संघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै महामारीको समयमा स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न माग गर्दै १३ बुँदे कार्यहरू कार्यान्वयन गर्न माग गरेको छ । संघले अस्पताल र स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मीहरूको सङ्क्रमित भएर सेवा प्रभावित बनिरहेकाले कोभिडसँग सम्बन्धित सेवा तथा अन्य स्वास्थ्य सेवालाई कसरी व्यवस्थित गर्ने विषयमा सरकारको ध्यान त्यति नपुगेको भन्दै जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । संघले १३ बुँदे कार्यहरू तत्काल कार्यान्वयन गर्न माग गर्दै सङ्क्रमित स्वास्थ्यकर्मीका लागि व्यवस्थित आइसोलेसनको व्यवस्था गर्न, स्वास्थ्यकर्मीको निःशुल्क औषधी उपचार र बिमाको व्यवस्था गर्नुपर्ने माग राखेको छ । महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई दिने भनिएको जोखिम भत्ता हालसम्म पूरा उपलब्ध नगराएकाले तुरुन्तै दिइने व्यवस्था मिलाउन संघका अध्यक्ष रामबहादुर चन्दद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै, स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा र खोप सेवा प्रदान गर्न खटिने स्वास्थ्यकर्मीहरूलाई पर्याप्त स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था र निःशुल्क पिसिआर परीक्षणको व्यवस्था गरिदिनसमेत संघले माग गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया