काठमाडौँ । महालक्ष्मी विकास बैंकले Global Money Week 2026 को अवसरमा देशभर वित्तीय साक्षरता तथा सचेतनामूलक कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको छ। बैंकले २०८२ चैत २ गतेदेखि ८ गतेसम्म साताव्यापी रुपमा सञ्चालन गरिएको यस अभियान अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरुलाई समेट्दै विविध कार्यक्रमहरु आयोजना गरेको हो।
बैंकका दरबारमार्ग, हेटौंडा, इटहरी, भैरहवा, पोखरा, वीरगञ्ज, धनगढी, डडेलधुरा, लाहान लगायत देशभर रहेका शाखा तथा प्रादेशिक कार्यालयमार्फत विद्यार्थी र युवाहरुलाई लक्षित गरी वित्तीय ज्ञान, सीप तथा सकारात्मक मनोवृत्ति विकासमा केन्द्रित कार्यक्रमहरु सञ्चालन गरिएका थिए। “स्मार्ट मनी टक्स” भन्ने मूल नारासहित सञ्चालन भएका यी कार्यक्रममा एक हजारभन्दा बढीको सहभागिता रहेको थियो।
कार्यक्रमहरुमा बचत, कर्जा, लगानी, सफा नोट, विद्युतीय बैंकिङ सेवा, विप्रेषण, बीमा, जोखिम व्यवस्थापन, वित्तीय अनुशासन तथा वित्तीय ठगीसम्बन्धी महत्वपूर्ण विषयमा जानकारी प्रदान गरिएको थियो। साथै नेपाल राष्ट्र बैंक लगायत विभिन्न संस्थाहरूद्वारा आयोजित प्रभातफेरी तथा सचेतनामूलक कार्यक्रममा पनि बैंकले सक्रिय सहभागिता जनाएको थियो।
यसै अवसरमा नेपालगञ्ज शाखाले बाँकेको श्री युद्ध संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ। बैंकले आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत समेत वित्तीय सचेतनासम्बन्धी सन्देश र भिडियो सामग्री प्रसारण गरी व्यापक जनचेतना अभिवृद्धि गर्ने प्रयास गरेको जनाएको छ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात गर्दै विगत ३१ वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकका हाल देशभर १०३ शाखा र करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहक रहेका छन्। बैंकले यस्ता कार्यक्रमले विशेषगरी किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्वबारे सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्