जेनजी आन्दोलनको एक वर्षपछि तङ्ग्रिँदै होटल व्यवसाय, हिल्टन र हायात अझै पुनर्निर्माणमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २४

काठमाडौं । गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देशभरका दुई दर्जनभन्दा बढी होटलमा आगजनी तथा तोडफोड हुँदा करिब २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको होटल संघ नेपाल (हान)ले जनाएको छ।

आन्दोलनको एक वर्ष पुग्न लाग्दा क्षतिग्रस्त अधिकांश होटल पुनर्निर्माणको क्रममा छन्। केही होटल पुनः सञ्चालनमा आइसकेका छन् भने केही सञ्चालनको तयारीमा छन्। हानका अनुसार प्रत्यक्ष रूपमा दुई हजारभन्दा बढीको रोजगारी प्रभावित भएको थियो।

आन्दोलनका क्रममा पूर्ण रूपमा क्षति पुगेको काठमाडौंको हिल्टन होटलको पुनर्निर्माण जारी छ। सिभिल निर्माणको काम लगभग सकिए पनि भूकम्प प्रतिरोधी ड्याम्पर तथा बाहिरी भागका सिसा जडानलगायत काम बाँकी रहेको होटल स्रोतले जनाएको छ। होटल करिब एकदेखि डेढ वर्षभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी छ।

त्यस्तै, हायात रिजेन्सी र वर्णवास म्युजियम होटल पनि पुनर्निर्माणको चरणमा छन्। हायातलाई यसै वर्ष डिसेम्बरसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। काठमाडौंको क्राउन प्लाजा भने पुनर्निर्माणपछि पुनः सञ्चालनमा आइसकेको छ।

पोखराका होटल एडम, बरपिपल, ल्याण्डमार्क र बगैंचा रिसोर्ट तथा बुटवलका ड्रिम इन्टरनेशनल र ड्रिमल्याण्ड गोल्ड रिसोर्ट पनि पुनः सञ्चालनमा आएका छन्। झापाका होटल किङ्सवेरी र मेची क्राउनसमेत सञ्चालनमा आइसकेका छन्। पोखराको होटल सरोबार भने अझै बन्द अवस्थामा छ।

आन्दोलनपछि सरकारले प्रभावित व्यवसायका लागि कर्जा पुनर्संरचना, सहुलियत ब्याज, बीमा दाबीको अग्रिम भुक्तानी र कर तिर्ने समय थपलगायतका उपाय अघि सारेको थियो। तर, होटल व्यवसायीले दीर्घकालीन पुनर्स्थापनाका लागि अझै स्पष्ट सरकारी नीति र पर्यटन क्षेत्रको दीर्घकालीन योजना आवश्यक रहेको बताएका छन्।

हान अध्यक्ष विनायक शाहले पर्यटन क्षेत्रमा सरकारले स्पष्ट भिजनसहित काम गर्नुपर्ने बताए। उनका अनुसार नेपालका होटलसँग वार्षिक ४० लाखभन्दा बढी पर्यटक धान्न सक्ने क्षमता भए पनि हाल करिब १२ लाख पर्यटक मात्र आउने गरेका छन्।

आन्दोलनका क्रममा क्षति पुगेका चन्द्रागिरि र मौलाकालिका केबुलकारसमेत मर्मतपछि पुनः सञ्चालनमा आएका छन्। व्यवसायीहरूले विपद् तथा अन्य संकटका बेला पर्यटन व्यवसायको पुनरुत्थानका लागि राज्यले थप प्रभावकारी र समन्वयात्मक भूमिका खेल्नुपर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *