सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार भएपछि खोजीकार्य तीव्र

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १९

काठमाडौँ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुई जनाको जीवितै उद्धार गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कबिर महर्जनको शुक्रबार बिहान सुरुङबाट जीवितै उद्धार गरिएको हो।

उनीहरूलाई १० दिनपछि नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले उद्धार गरेको हो। उद्धार गरिएका दुवै जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ।

सुरुङभित्र अझै मानिसहरू फसेको आशंका गरिएपछि खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोली सुरुङभित्र प्रवेश गरी बेपत्ताहरूको खोजीमा सक्रिय रहेको छ।

सुरुङभित्रबाट थप मानिसहरूको आवाज सुनिएको सूचनापछि उद्धार टोलीले खोजीलाई थप तीव्र बनाएको हो। बाढीका कारण आयोजनामा ठूलो क्षति पुगेको छ भने सुरुङभित्र कति जना फसेका छन् भन्ने यकिन विवरण अझै प्राप्त हुन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *