काठमाडौँ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सञ्जय साह र मेकानिकल सुपरभाइजर कबिर महर्जनको १० दिनपछि जीवितै उद्धार गरिएको छ।
उद्धारपछि अपरेटरका रूपमा कार्यरत साहले सुरुङभित्र अझै केही मानिस फसेको हुनसक्ने बताएका छन्। उनका अनुसार दुर्घटनाको समयमा सुरुङ तथा आयोजनाको क्षेत्रमा करिब ४०–४५ जना मानिस रहेको हुनसक्छ।
साहले आफू सेन्टर रुममा अपरेटरका रूपमा काम गरिरहेको र बाढी आउनुअघि नै दुर्घटनाको जोखिमबारे सहकर्मीहरूलाई जानकारी गराएको बताए। आफू बाहिर निस्कनुभन्दा पहिले अन्य सहकर्मीलाई सुरक्षित स्थानतर्फ पठाउन खोज्दा समय लागेको र अन्तिममा आफू सुरुङबाट बाहिर निस्कन नसकेको उनको भनाइ छ।
‘कन्ट्रोल रुममा म भएपछि सबैको ज्यान बचाउनु थियो। मैले सबैलाई एक्सिडेन्ट भयो भनेर जानकारी गराएँ र बाहिर भाग्न भनेँ। सबैलाई निकाल्दा मेरो समय गयो र अन्तिममा म आफैँ निस्कन सकिनँ,’ साहले भने।
उनले सुरुङभित्र सामान्य अवस्थामा चार–पाँच जना मात्रै रहने भए पनि उक्त समयमा धेरै मानिस रहेको हुनसक्ने बताए। उनका अनुसार आफूले उद्धार हुनुअघि छेउछाउमा तीन–चार जना साथीहरू रहेको थाहा पाएका थिए।
सुरुङको भित्री भागमा रहेको पावर हाउसमा समेत मानिसहरू हुनसक्ने साहको अनुमान छ। ‘सबै भाग्न नसकेको हुनुपर्छ। टनेल लामो छ, पानीको फोर्सले भित्र लगिसकेको हुन सक्छ,’ उनले भने।
साहका अनुसार सुरुङभित्र १० दिनसम्म रहँदा उनले महामन्त्र जप गरेर समय बिताएका थिए। बाढीपछि बेपत्ता तथा सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धार कार्य जारी छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्