काठमाडौँ : भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली नदी आसपासका बस्तीमा अझै जोखिम कायमै रहेको भन्दै सम्बन्धित निकायले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका प्रवक्ता डा. राजन भट्टराईका अनुसार बाढी प्रभावित नदी किनार, तल्लो भूभाग तथा सम्भावित डुबान क्षेत्रमा रहेका नागरिक तत्काल सुरक्षित र अग्लो स्थानमा बस्नुपर्ने अवस्था छ।उनले अर्को सूचना जारी नभएसम्म नदी आसपास अनावश्यक आवतजावत नगर्न र सरकारी निकायबाट जारी हुने सूचना तथा निर्देशनलाई अनिवार्य रूपमा पालना गर्न आग्रह गरेका छन्।
प्रारम्भिक अध्ययनअनुसार नेपाल–चीन सीमा क्षेत्र रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वमा गएको हिम–चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा ठूलो मात्रामा गेग्रानसहितको बाढी आएको हो।
तिब्बततर्फबाट आएको बाढी भोटेकोशी हुँदै रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी क्षेत्र पार गरेर त्रिशूली नदीमा मिसिएको बताइएको छ। यसका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका त्रिशूली तटीय क्षेत्रमा जोखिम बढेको छ।
बाढीको वास्तविक कारण र थप जोखिमबारे हिमताल, हिमनदी तथा आसपासका हिम क्षेत्रमा सूक्ष्म अध्ययन भइरहेको केन्द्रले जनाएको छ। नदीको बहाव र सम्भावित जोखिमबारे थप सूचना आउन सक्ने भएकाले तटीय क्षेत्रका नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्