काठमाडौँ । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ क्रिकेट टोलीले आज अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)को सामना गर्दैछ।
डार्विनस्थित मारारा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ। प्रतियोगितामा अहिलेसम्म तीन खेल खेलेको नेपाल ‘ए’ले एक खेलमा मात्र जित निकाल्न सकेको छ। त्यसैले सेमिफाइनलको सम्भावना बलियो बनाउन एसिटीविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण बनेको छ।
नेपालले प्रतियोगिताको सुरुआती खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ८ विकेटको हार बेहोरेको थियो। त्यसपछि बङ्गलादेश हाइपरफर्मेन्स–११ ले नेपाललाई ९ विकेटले पराजित गरेको थियो। पछिल्लो खेलमा भने नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको थियो।
यता एसिटीको प्रदर्शन भने कमजोर छ। तीन खेल खेलेको उसले कुनै पनि खेल जित्न सकेको छैन। त्यसैले नेपालविरुद्धको खेलमा उसमाथि पनि पहिलो जित निकाल्ने चुनौती हुनेछ।
हाल नेपाल ‘ए’ दुई अंकसहित तालिकाको सातौँ स्थानमा छ। आजको खेल जितेमा नेपालले अंक थप्दै सेमिफाइनल दौडमा आफूलाई थप बलियो अवस्थामा पुर्याउन सक्नेछ।
कप्तान अनिलकुमार शाहको नेतृत्वमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, पवन सर्राफ, कुशल मल्ल, मयन यादव, दीपक डुम्रे, लोकेश बम, शाहब आलम, राशिद खान, आकाश चन्द, रिजन ढकाल, नारायण जोशी, विपिन खत्री, तृतराज दास र युवराज खत्री रहेका छन्।
नेपालका लागि आजको खेल केवल अर्को प्रतिस्पर्धा नभई प्रतियोगिताको आगामी यात्रा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्