नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र टिकट वितरणका पुराना अभ्यास अन्त्य भएको स्पष्ट पारेका छन्। अब उम्मेदवारीका लागि सभापति वा महामन्त्रीको घर धाउने परिपाटी नरहेको उनले बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित पार्टीको चुनाव परिचालनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले कांग्रेस अब गुट–उपगुटभन्दा माथि उठेर अघि बढ्ने चरणमा पुगेको दाबी गरे। उनका अनुसार पार्टीभित्र अब कुनै पनि प्रकारको भागबण्डा स्वीकार्य हुने छैन।
“अब कांग्रेसमा न गुट छ, न भागबण्डा,” थापाले भने, “पार्टीभित्र मात्रै होइन, बाहिर पनि समान व्यवहार हुन्छ। सबैका लागि एउटै मापदण्ड लागू हुनेछ।”
थापाले पार्टीले नयाँ युगको सुरुआत गरेको उल्लेख गर्दै विगतलाई पूर्ण रूपमा अस्वीकार नगरेको पनि स्पष्ट पारे। उनले निवर्तमान नेतृत्वप्रति सम्मान प्रकट गर्दै लोकतन्त्र र पार्टी निर्माणमा उनीहरूले खेलेको भूमिकाको स्मरण गरे।
“हिजो सबै गलत थिए भन्ने होइन,” उनले भने, “निवर्तमान सभापतिले आफ्नो जीवन लोकतन्त्र, पार्टी र हामी सबैका अधिकारका लागि समर्पित गर्नुभएको हो। उहाँको योगदानको कदर गर्दै, उहाँको शुभेच्छासहित कांग्रेसले नयाँ अध्याय सुरु गरेको छ।”
उनको भनाइले पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो बनाउने सन्देश दिएको सहभागीहरूको प्रतिक्रिया थियो।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्