विशेष महाधिवेशनमार्फत नयाँ कांग्रेस बनाऔं” – गगन थापा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीलाई पुनःसंरचना गरेर मात्रै आगामी निर्वाचनमा जानुपर्ने बताएका छन्। उनका अनुसार, यस्तो कदमले नयाँ पुस्ताको आकांक्षा पूरा गर्नका साथै कांग्रेसप्रतिको जनविश्वास पुनःस्थापना गर्न मद्दत पुर्‍याउनेछ।

भिडियो सन्देशमार्फत् थापाले भने, “यदि हामीले अहिलेको अधिवेशन सफलतापूर्वक सम्पन्न गर्‍यौं भने कांग्रेसले आत्मसमीक्षा गर्ने, गल्ती स्वीकार्ने र सुधारका लागि प्रतिवद्ध हुने सन्देश जनतामा पुग्नेछ। नयाँ सुरुवातको संकल्पसहित अघि बढ्दा मात्रै नागरिकहरूसँगको संवाद पुनः सुरु हुनेछ।”

उनका अनुसार अधिवेशनले पार्टी र नागरिकबीचको सम्बन्धमा आएको दूरी घटाउनेछ। “जब हामीले आत्मसुधारको बाटो रोज्छौं, तबमात्र जनताले फेरि एकचोटि हामीलाई विश्वास गर्ने अवसर दिन्छन्,” थापाले जोड दिए।

हाल कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनबारे मतभेद बढेको छ। शीर्ष नेताहरू नियमित महाधिवेशनको पक्षमा उभिएका छन् भने महामन्त्री थापा नेतृत्वको समूहले विशेष महाधिवेशनको माग गर्दै आएको छ। विशेष अधिवेशनको मागसहित संकलित हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकिएको छ।

थापाले आगामी निर्वाचन (२१ फागुन) अघि, पुस महिनाभित्र विशेष महाधिवेशन सम्पन्न गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। यसैबीच, संस्थापन पक्षले आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेको छ, जसमा अन्तिम निर्णय पार्टी केन्द्रीय समितिको जिम्मामा छ।

थापाका अनुसार, भदौ २३ पछि राजनीतिक र जनभावनात्मक परिदृश्यमा ठूला परिवर्तन आएका छन्, जसका कारण नयाँ सोच र संरचनासहित कांग्रेसले जनतामाझ पुग्नुपर्ने अवस्था आएको हो।

उनले कांग्रेसप्रति जनतामा रहेको असन्तुष्टि बुझ्ने र समाधानका उपाय खोज्ने समय आएको उल्लेख गर्दै भने, “हामीले अब जनतालाई सुनाउने होइन, उनीहरूको कुरा सुन्ने, संवाद गर्ने र सहभागी गराउने वातावरण बनाउनुपर्छ।”

महामन्त्री थापाले पार्टीभित्रका सबै तहका कार्यकर्ता र बाहिरका समर्थकहरूलाई पनि यस बहसमा सक्रिय सहभागिताको आह्वान गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *