आफ्नै नेतृत्वमा दल बनाउने योजनामा बालेन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १०

काठमाण्डौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक सक्रियता बढाएका छन् । आफ्नै नेतृत्वमा पार्टी बनाउने गृहकार्य अनुसार उनले विभिन्न दलका नेता, पत्रकार, जेनजी अगुवा, कलाकार लगायतसँग छलफल गरेका हुन् ।

यसैक्रममा ललितपुरको कुपण्डोलस्थित गएराति अबेरसम्म बालेनले विभिन्न व्यक्तिहरुसँग अलग–अलग र सामूहिक छलफल गरेका थिए । छलफल आज पनि जारी रहने स्रोतले जनाएको छ ।

बालेनसँग बुधबारको छलफलमा राप्रपा, जनमत, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेन–जेजी फ्रन्टलगायत केही सञ्चारकर्मीहरू सहभागी थिए । स्रोतका अनुसार छलफलमा नागरिक उन्मुक्तिका रेशमलाल चौधरी, मिलन पाण्डे, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, शेरबहादुर देउवासँग चुनाव लडेका सागर ढकालसमेत सहभागी थिए । मिडियाकर्मी सुरजसिंह ठकुरी र ऋषी धमलासँग पनि बालेनले छलफल गरेको स्रोतको भनाइ छ ।

सामाजिक सन्जालमा कांग्रेस नेता चन्द्र भण्डारीले पनि बालेनलाई भेटेर छलफल गरेको कुराहरु सार्वजनिक भएका छन् तर भण्डारीले आफूले बालेनलाई नभेटेको बताएका छन् ।

नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशमलाल चौधरीले बुधबार राति बालेनसँगको छलफलमा सहभागी भएको स्वीकार गरे । उनले नयाँ शक्तिहरुलाई एकीकृत गरेर अघि बढ्न बालेनले प्रस्ताव गरेको जानकारी दिएका छन् ।

उनले भने, ‘पुराना दलको विकल्पमा नयाँहरु एक भएर चुनावमा जाऔं भन्ने बालेनजीको प्रस्ताव थियो । हिजो एकसरो छलफल भयो । यस्ता छलफल निरन्तर अगाडि बढाउने कुरा छ ।’

गत सोमबार बालेनले रास्वपाका सभापति रवि लामिछानेसँग कमलपोखरीमा छलफल गरेका थिए । सो छलफल टुंगोमा नपुगेपछि उनले बुधबार अन्यसँग छलफल चलाएको स्रोत बताउँछ ।

आज दिउँसो पनि बालेनसँग छलफल गर्ने सल्लाह गरेर छुट्टिएको धमलाले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *