प्रधानमन्त्रीसँगको मेयर छलफलमा किन गएनन् बालेन ? मेयरहरूले के–के भने ?’

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले सोमबार काठमाडौँ उपत्यकाका मेयरहरूसँग बालुवाटारमा छलफल गरेकी थिइन्। ललितपुर र भक्तपुरसहित उपत्यकाका सबै स्थानीय तहका प्रमुखहरू सहभागी भए पनि काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) भने उपस्थित भएनन्।

छलफलमा सहभागी एक मेयरका अनुसार प्रधानमन्त्री कार्कीले बालेनको अनुपस्थितिप्रति गुनासो व्यक्त गर्दै उनको स्वभावबारे टिप्पणी समेत गरिन्। मेयर्स फोरमका बैठकहरूमा पनि बालेन नियमित रूपमा सहभागी नहुँदा यो पहिलो घटना होइन।

जेनजी आन्दोलनपछि बालेनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दवाब दिँदै आएका छन्, तर सरकारले संवाद र चुनावी तयारीलाई प्राथमिकता दिएकै कारण बालेन सरकारसँग असन्तुष्ट रहेको स्रोतहरू बताउँछन्। केही दिनअघि बालेनको टिमबाट गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामासमेत माग गरिएको थियो, जसलाई प्रधानमन्त्री कार्यालयले खण्डन गरेको थियो। त्यसयतादेखि बालेनले सरकारसँग संवाद नगरेको बताइन्छ।

छलफलमा सहभागी मेयरहरूले फोहोर व्यवस्थापन, सडक बत्तीको बक्यौता, स्थानीय स्तरका सुरक्षाका समस्या, सडक विस्तार, निर्माणाधीन सडक छिटो बनाउनुपर्ने मागलगायत विभिन्न मुद्दा प्रधानमन्त्रीसमक्ष राखे। धेरैले ३ करोडभन्दा कमका योजना कटौती हुँदा विकास कार्य प्रभावित भएको गुनासो पनि गरे।

प्रधानमन्त्री कार्कीले आफू निर्वाचनमा केन्द्रित रहेको बताउँदै उठेका समस्याहरू समाधान गर्न सकिने हदसम्म प्रयास गर्ने आश्वासन दिइन्। उनले युवापुस्ताको असन्तुष्टिबारे मनन गर्नुपर्ने उल्लेख गर्दै अबका चुनौतीहरू मिलेर समाधान गर्नुपर्ने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *