काभ्रेपलाञ्चोक, मंसिर २०, २०८२:अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको छ। गत कात्तिकमा नयाँ निर्माण कम्पनीसँग सम्झौता भएपछि रोकिएको काम पुनः सुरु भएको हो।
डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार, १४ महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित सि–एन ए–वान काली जेभीसँग भ्याटबाहेक ३१ करोड ५६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ।पहिलो चरणमा आगामी चैतसम्म फराकिलो सडकमा कालोपत्रे सकिने र बाँकी काम क्रमशः निर्धारित समयमा सम्पन्न हुने कार्यालयको भनाइ छ। विभिन्न स्थानमा ‘कटिङ’को काम गर्दा पुनः विस्तारलाई तीव्रता दिइएको छ।
तीव्र कार्यको कारण विगत तीन वर्षदेखि यात्रा कठिन बनाएको सडकको अवस्था सुधार हुने अपेक्षा गरिएको छ। पुरानो ठेक्का रद्द गरेर पाँच महिनापछि बोलपत्र आह्वान गरिएको थियो। चार किलोमिटर दूरीको उक्त सडक नयाँ कम्पनीले समयमै सक्नेमा आशावादी रहेको योगेशले बताए।
अरनिको राजमार्ग नेपालको उत्तरी नाका तातोपानीसम्म जाने मुख्य मार्ग भएकाले सडक समयमै नबन्दा यात्री धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिममा थिए।सडक १२ मिटर फराकिलो बनाइ कालोपत्र गर्ने योजना रहेको छ। मालवाहक सवारीको भारसमेत सहन सक्ने गरी ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस र दुई चरणमा कालोपत्रे गर्ने तयारी भइरहेको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्