काठमाडौं — नेपालको अग्रणी निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले माइकल फोलेलाई आफ्नो नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। फोलेको नियुक्ति कात्तिक १५, २०८२ (नोभेम्बर १, २०२५) देखि लागू हुनेछ।
फोलेसँग दुई दशकभन्दा बढी समयको दूरसञ्चार क्षेत्रमा वरिष्ठ नेतृत्वको अनुभव छ। यस अवधिमा उनले अफ्रिका, दक्षिण एशिया र युरोपका प्रमुख दूरसञ्चार कम्पनीहरूमा उल्लेखनीय सफलता हासिल गरेका छन्।
एनसेलमा आउनु अघि उनले एयरटेल फ्रेन्च अफ्रिकाको प्रमुखका रूपमा सातवटा फ्राङ्कोफोन अफ्रिकी बजारहरू सम्हालेका थिए। त्यसअघि, टेलिनोर पाकिस्तान (टीपी) का सीईओका रूपमा कार्यरत रहँदा उनले चुनौतीपूर्ण परिस्थितिमा पनि कम्पनीलाई उल्लेखनीय लाभ र वृद्धि हासिल गराएका थिए।
उनले ग्रामीणफोन (बंगलादेश) र टेलिनोर बुल्गेरिया जस्ता ठूला कम्पनीहरूमा पनि सीईओको भूमिकामा रही ग्राहक वृद्धि, लाभदायिता र ईबिट्डामा ६०% भन्दा बढी वृद्धि दिलाएका थिए। साथै, टामीर माइक्रोफाइनान्स (हालको इजीपैसा) र टेलिनोर हेल्थको अध्यक्षका रूपमा पनि कार्य गरेका छन्। हाल उनी वाटु डीआरसी एसए (अफ्रिका) का अध्यक्ष थिए।
नियुक्तिपछि फोलेले भने, “काठमाडौंमा एनसेलको नेतृत्व सम्हाल्न पाउनु गर्व र जिम्मेवारी दुबै हो। एनसेलले नेपालको डिजिटल भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। हामी सेवा प्रदायक मात्र होइन, डिजिटल संरचनाका निर्मातासमेत हौं।”
उनको नियुक्तिसँगै कार्यवाहक सीईओ सैयद इनामुल कबीरले फेरि कम्पनीको प्रमुख वित्तीय अधिकृत (सीएफओ) को भूमिकामा फर्किनेछन्।
एनसेल सञ्चालक समितिले फोलेप्रति विश्वास व्यक्त गर्दै भनेको छ, “उनको रणनीतिक सोच र अन्तर्राष्ट्रिय अनुभवले एनसेलको रूपान्तरण यात्रालाई थप गति दिनेछ।”
एनसेल र यसको योगदान
सन् २००४ मा स्थापना भई २००५ देखि सेवा दिँदै आएको एनसेल हाल स्पेक्ट्रलाइट यूके लिमिटेड अन्तर्गत सञ्चालनमा छ। यो कम्पनी डिजिटल सेवा, नवप्रवर्तन र सामाजिक उत्तरदायित्वका क्षेत्रमा अग्रसर रहेको छ।
एनसेलले हालसम्म कर तथा शुल्कबापत ३६० अर्ब रुपैयाँभन्दा बढी तिरेको छ भने सामाजिक उत्तरदायित्व अन्तरगत २ अर्बभन्दा बढीको योगदान दिएको छ। यसको उद्देश्य डिजिटल नेपाल निर्माणमा योगदान गर्नु हो।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्