काठमाडौँ । गृह मन्त्रालयले लागूऔषध नियन्त्रणका लागि नयाँ विभाग स्थापना गर्ने निर्णय गरेको छ। बालेन्द्र शाह नेतृत्वको सरकार आएपछि गरिएको मन्त्रालयको संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षणका क्रममा नयाँ विभाग स्थापना गर्ने निर्णय भएको हो।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार मन्त्रालयको ओ एन्ड एम गर्दा नयाँ विभागका रूपमा लागूऔषध नियन्त्रण विभाग स्थापना गर्ने निर्णय भएको हो। हाल विभाग स्थापनाको प्रक्रिया अघि बढिरहेको उनले जानकारी दिए।
मन्त्रालयले भदौ १८ गते ऋषिराम तिवारीलाई नयाँ विभागको महानिर्देशकका रूपमा सरुवा गरिसकेको छ। महानिर्देशक तिवारीका अनुसार विभागका लागि कार्यालय सञ्चालन गर्ने स्थान खोज्ने काम भइरहेको छ।
‘नयाँ विभाग हो, बस्ने स्थान खोजिरहेका छौँ,’ तिवारीले भने।
नयाँ विभागमा १ जना सहसचिव, २ जना उपसचिव, ३ जना शाखा अधिकृत, ५ जना नायब सुब्बा र २ जना कम्प्युटर अपरेटर गरी विभिन्न पदको दरबन्दी स्वीकृत गरिएको छ।
यसअघि गृह मन्त्रालयमा लागूऔषध नियन्त्रण शाखा मात्रै रहेको थियो। उक्त शाखालाई विस्तार गर्दै कार्यक्षेत्र र जिम्मेवारीको दायरा बढाएर विभागका रूपमा स्थापना गर्न लागिएको हो।
यसअघि लागूऔषध नियन्त्रण शाखाले लागूऔषधसम्बन्धी नीति तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन गर्ने, लागूऔषध दुर्व्यसनीको उपचार तथा पुनर्स्थापनासम्बन्धी नीति निर्धारण गर्ने र लागूऔषधको बिक्री वितरण, ओसारपसार तथा दुरुपयोग नियन्त्रणसम्बन्धी काम गर्दै आएको थियो।
त्यस्तै, औषधि तयार गर्न आवश्यक लागूऔषध आयात तथा प्रयोगका लागि अनुमति दिने, बरामद भएका लागूऔषध नष्ट गर्ने, लागूऔषध नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिले तय गरेका काम कार्यान्वयन गर्ने तथा उपचार र पुनर्स्थापनाका क्षेत्रमा सामाजिक संघसंस्थासँग समन्वय गर्ने जिम्मेवारी पनि शाखाले सम्हाल्दै आएको थियो।
लागूऔषधका दुष्परिणामबारे जनचेतना अभिवृद्धि गर्ने तथा यससम्बन्धी कार्यक्रमको तर्जुमा र प्रचारप्रसार गर्ने कामसमेत शाखाबाट हुँदै आएको थियो।
अब यी कामलाई थप व्यवस्थित गर्दै लागूऔषध नियन्त्रणसम्बन्धी नीति, अनुसन्धान, अनुगमन, समन्वय र कार्यान्वयनको दायरा विस्तार गर्ने उद्देश्यले विभाग स्थापना गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्