काठमाडौँ । नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीको आठौँ विस्तारित बैठक आज (बिहीबार) भर्चुअल माध्यमबाट सम्पन्न भएको छ। बैठक जिल्ला कमिटीका अध्यक्ष डुफ कुमार बास्तोलाको अध्यक्षता र सोलुखुम्बु जिल्ला इन्चार्ज किशोर अधिकारीको प्रमुख आतिथ्यता तथा रक्षा मन्त्री मानवीर राईको विशेष आतिथ्यतामा सम्पन्न भएको हो।
बैठकमा पार्टी विधान संशोधन सम्बन्धी प्रस्ताव प्रस्तुत गरिँदै त्यसमा छलफल गरिएको र विभिन्न प्रतिनिधिहरूबाट सुझावहरू संकलन गरिएको नेकपा एमाले सोलुखुम्बु जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख नुतन श्रेष्ठले जानकारी दिनुभयो।
पार्टीको विधान संशोधन प्रस्तावबारे बृहत् छलफल पश्चात् प्राप्त सुझावहरू लिखित रूपमा पार्टी केन्द्रमा पठाउने निर्णय बैठकले गरेको जिल्ला कमिटीका सचिव कल्पना राईले बताउनुभयो।
बैठकलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज किशोर अधिकारीले हालको सरकार हेरफेरको चर्चा केवल हल्ला मात्र भएको स्पष्ट पार्दै कार्यकर्ताहरूलाई दुबिधामा नपर्न आग्रह गर्नुभयो। साथै, उहाँले निर्धारित समयसीमाभित्र सुझावहरू संकलन गरी केन्द्रमा पठाउन निर्देशन दिनुभयो।
कार्यक्रमका विशेष अतिथि रक्षा मन्त्री मानवीर राईले देशी तथा विदेशी शक्ति केन्द्रहरूले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीको नेतृत्वलाई कमजोर पार्ने प्रयास गरिरहेको तर पार्टी बलियो रहेकाले त्यसले असर नगर्ने बताउनुभयो। साथै, उहाँले पूर्व राष्ट्रपति पार्टी राजनीतिमा सक्रिय रहने विषयमा टिप्पणी गर्दै राष्ट्रपति पदको गरिमालाई कायम राख्नुपर्नेमा जोड दिनुभयो।
अध्यक्ष डुफ कुमार बास्तोलाले बैठकमा पार्टीभित्र कुनै समस्या नरहेको स्पष्ट पार्दै केन्द्रदेखि वडा तहसम्म पार्टीलाई अझ सक्रिय र सुदृढ बनाउन सबै कार्यकर्तालाई आग्रह गर्नुभयो।
भर्चुअल माध्यमबाट सम्पन्न बैठकमा केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडा तहका प्रतिनिधिहरूको व्यापक सहभागिता रहेको र बैठक निकै प्रभावकारी रहेको जनाएको छ। बैठकमा विधान संशोधन प्रस्तावबारे विशेष छलफल गर्दै सुझावहरू संकलन गरिएका थिए।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्