श्रावण २६, काठमाडौं — नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोविलिटी एक्स्पो २०२५’ सोमबार साँझ सम्पन्न भएको छ। श्रावण २१ गतेदेखि काठमाडौंस्थित नेपाल पुलिस क्लबमा सुरु भएको एक्स्पोले करिब एक लाख दर्शकको अवलोकन पाएको छ, जुन यस किसिमको कार्यक्रममा अहिलेसम्मकै उच्च सहभागिता मानिएको छ।
छ दिनसम्म सञ्चालन भएको यस एक्स्पोमा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी थिए। मोबिलिटी क्षेत्रको विकास, प्रविधि, नवप्रवर्तन र सम्भावनाको झलक दिन आयोजित एक्स्पोमा सवारी साधनको भव्य प्रदर्शनीका साथै विभिन्न प्यानल डिस्कसन र सिकाइका सत्रहरू पनि संचालन गरिएका थिए।
समापन समारोहमा नाइमा अध्यक्ष रितु सिंह वैद्यले सबै सहभागी, प्रायोजक, दर्शक, तथा सहयोगीप्रति आभार व्यक्त गर्दै एक्स्पो अपेक्षाभन्दा धेरै सफल भएको बताउनुभयो। “एक लाखभन्दा बढी दर्शक, प्रत्येक स्टलमा भएको बिक्री, प्यानल डिस्कसनमा देखिएको सहभागिता, र सहभागिहरुको उत्साहपूर्ण सहभागिताले नेपाली मोबिलिटी क्षेत्रमा नाइमाले नयाँ आयामको विकास गरेको स्पष्ट देखिएको छ,” उहाँले भन्नुभयो।
यस एक्स्पोमा नेशनल इन्श्योरेन्स र एभरेष्ट बैंक प्रमुख प्रायोजक थिए भने, विभिन्न साझेदार संस्थाहरुको सामूहिक प्रयासले एक्स्पोलाई सफल बनाउन योगदान पुर्याएको अध्यक्ष वैद्यले उल्लेख गर्नुभयो।
नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलालले एक्स्पोका क्रममा आयोजित सिकाई सत्रहरूबारे जानकारी दिंदै, “नेपाल र भारतका लब्धप्रतिष्ठित विज्ञहरुको सहभागीता रहेको यी सत्रहरू निःशूल्क प्रवेशसहित संचालन गरिएका थिए,” भन्नुभयो। उहाँले भविष्यमा पनि यस्ता कार्यक्रमहरु नियमित रूपमा आयोजना गर्दै जाने नाइमाको प्रतिबद्धता दोहोर्याउनुभयो।
दर्शक उपस्थिति विवरण:
- पहिलो दिन (श्रावण २१): १५,०००
- दोस्रो दिन: १३,५००
- तेस्रो दिन: १९,५००
- चौथो दिन: २१,५००
- पाँचौं दिन: २२,०००
- छैठौं दिन (समापन): ७,८००
नाइमा नेपाल मोविलिटी एक्स्पो २०२५ लाई नेपालकै सबैभन्दा ठूलो अटो एक्स्पो को रूपमा चिनिएको छ, जहाँ सरकारी, निजी, कुटनीतिक, व्यवसायिक तथा सर्वसाधारण सबै क्षेत्रका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजकका अनुसार आगामी वर्षहरूमा अझ व्यापक र नविन ढंगबाट कार्यक्रम अगाडि बढाइनेछ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्