महालक्ष्मी विकास बैंकद्वारा ‘स्क्यान टु क्यास’ सेवा सुरु, डिजिटल भुक्तानी क्षेत्रमा नयाँ फड्को

DaksuMedia दाक्सु मिडिया
|
२०८२ जेष्ठ २८

काठमाडौं, जेठ २७ — देशभर डिजिटल बैंकिङ्गको पहुँच विस्तार गर्दै महालक्ष्मी विकास बैंक लिमिटेडले ‘फोन पे’ सँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘स्क्यान टु क्यास’ सेवा सञ्चालनमा ल्याएको छ। यस नवप्रवर्तन सेवामार्फत ग्राहकहरुले कुनै पनि बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी टेलर काउन्टरमा क्यूआर स्क्यान गरेर नगद झिक्न सक्नेछन्।

हाललाई दरबारमार्ग र थापाथली शाखाबाट प्रारम्भ गरिएको यो सेवा निकट भविष्यमा देशभरका शाखाहरूमा विस्तार गरिने योजना बैंकले अघि सारेको छ। बैंकको विश्वास छ कि यस सेवा विस्तारले परम्परागत चेक वा एटीएम कार्ड प्रयोगमार्फत नगद झिक्ने प्रक्रियालाई सहज, छरितो र डिजिटल बनाउनेछ।

डिजिटल बैंकिङ्ग क्षेत्रमा निरन्तर अग्रसर महालक्ष्मी विकास बैंकले यसअघि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सहकार्यमा ‘अलि पे प्लस’ नेटवर्कमार्फत क्रस-बोर्डर क्यूआर भुक्तानी सेवा समेत सुरु गरिसकेको छ। यस सुविधामार्फत चीन, सिंगापुर, दक्षिण कोरिया लगायत देशबाट आएका पर्यटकहरूले ‘नेपाल पे क्यूआर’ स्क्यान गरेर आफनो डिजिटल वालेटमार्फत नेपालमा सहज रूपमा भुक्तानी गर्न सक्छन्।

नवप्रवर्तन र डिजिटल पहुँचमा आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाउँदै बैंकले हालै ‘महालक्ष्मी स्मार्ट साथी’ मोबाइल एप पनि सार्वजनिक गरेको छ, जसले ग्राहकलाई अझ सरल र सुरक्षित डिजिटल सेवा प्रदान गर्नेछ।

डिजिटल भविष्यतर्फको यो कदमले बैंकिङ्ग सेवा अझ पहुँचयोग्य, भरपर्दो र प्राविधिक दृष्टिले समृद्ध बनाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *