×

महालक्ष्मी विकास बैंकको ३१औं वार्षिकोत्सवमा दीर्घसेवी कर्मचारी सम्मानित

असार २, २०८२ | दाक्सु मिडिया

काठमाडौं, २०८२ असार १ – महालक्ष्मी विकास बैंकले आफ्नो ३१औं वार्षिकोत्सवको अवसरमा २० वर्षभन्दा बढी समयसम्म निरन्तर सेवा प्रदान गरेका कर्मचारीहरुलाई एक विशेष कार्यक्रममार्फत सम्मान गरेको छ। बैंकको स्थायित्व, विकास र उत्कृष्टताको यात्रामा महत्वपूर्ण योगदान पु¥याएका ३६ जना कर्मचारीहरुलाई राजधानी काठमाडौंमा आयोजित समारोहका बीच सम्मान गरिएको हो।

समारोहमा बैंकका अध्यक्ष, संचालक समिति सदस्यहरू तथा प्रमुख कार्यकारी अधिकृतले सम्मानित कर्मचारीहरुलाई प्रमाणपत्र तथा सम्मान–चिन्ह प्रदान गरे। उनीहरुको दीर्घ सेवा, इमान्दारिता, व्यावसायिकता र समर्पणले बैंकको सफलतामा खेलेको भूमिकाको सराहना गरियो। कार्यक्रममा संचालक समिति, उच्च व्यवस्थापन तहका पदाधिकारी, विभिन्न प्रदेश प्रमुख तथा शाखा प्रबन्धकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा महालक्ष्मी टोस्टमास्टर क्लबको औपचारिक सुरुवात पनि गरियो। टोस्टमास्टर इन्टरनेशनलबाट मान्यता प्राप्त यस क्लब मार्फत बैंकका कर्मचारीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास, वक्तृत्व कला र संचार कौशल अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ। यस किसिमको क्लब स्थापना गर्ने महालक्ष्मी विकास बैंक नेपालकै पहिलो विकास बैंक बनेको छ।

वार्षिकोत्सवका अवसरमा जेठ महिनाभर सञ्चालन गरिएका विविध कार्यक्रमहरू पनि सफलतापूर्वक सम्पन्न गरिएको बैंकले जनाएको छ। साथै, बैंकले आगामी दिनहरूमा आफ्ना ग्राहकहरूलाई थप अत्याधुनिक, सुरक्षित र सहज सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: