निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई निष्पक्ष र उल्लासमय बनाउने कार्यमा सघाउन कलाकारलाई आग्रह गरेको छ ।
सोमबार काठमाडौंमा आयोजित कलाकारसँग चुनावी अन्तरक्रियामा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई सफल तुल्याउन कलाकारको साथको अपेक्षा राखे ।
थपलियाले भने, ‘तपाईंहरुबाट यो निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, उल्लासमय र सहभागितामूलक ढंगले सम्पन्न गर्न आयोगले सम्पूर्ण सहयोग प्राप्त गर्नेछ भन्ने मैले विश्वास गरेको छु ।’
कलाकारले साथ दिएमा साँच्चिकै निर्वाचनको माहौल बन्ने भन्दै थपलियाले निर्वाचनले सिर्जना गर्ने आपसी द्वन्द्व, मनमुटाव, द्वेष, इर्ष्या आदिलाई निस्तेज पारेर शान्ति, मित्रता र सहअस्तित्वतर्फ उन्मुख गराउन सिर्जनात्मक शक्ति कलाकारसँग हुने बताए ।
आयोगको अन्तरक्रियामा हरिहर शर्मा, कृष्ण मल्ल, सन्तोष पन्त, राजेश हमाल, मनोज गजुरेल, दीपाश्री निरौला, आनी छोइङ डोल्मा, रमेश बुढाथोकी, राजेन्द्र शलभ, शैलेन्द्र सिंखडा, दिनेश डीसी, सत्यराज आचार्य, जितु नेपाल, प्रकाश सपुत, मिलन नेवार, रिनेशा राई, सुनिता दुलाल, दीपक आचार्य काकु लगायतको सहभागिता थियो ।
प्रमुख निर्वाचन आयुक्तले कलाकारलाई आ–आफ्नो तर्फबाट निर्वाचनबारे मतदाता शिक्षा, चुनावको महत्व लगायतबारे प्रकाश पारेका थिए ।
कलाकारबाट मुख्यतः सातवटा अपेक्षा राखेको आयोगले बतायो । चुनावी माहोल बनाउने, सामाजिक सञ्जालमार्फत आयोगका सन्देश पुर्याउन मद्दत गर्ने, मतदाता शिक्षाका सन्देश प्रवाह गर्ने, निर्वाचन सम्बन्धी झुटा र गलत समाचारप्रति सजग रहन, आचारसंहिताको पूर्ण पालना गर्न मद्दत गर्न आयोगको आग्रह थियो ।
अन्तरक्रियामा अभिनेता सन्तोष पन्तले अहिले चर्चामा रहेको ‘नो नट अगेन’बारे प्रश्न राखे । जवाफमा थपलियाले लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र निर्वाचनको चरित्रहत्या गर्न नपाइने बताए ।
समाजले पचाउने सभ्य भाषामा गाली गर्न थपलियाले आग्रह गरे । हास्यकलाकार मनोज गजुरेलले कलाकार निर्वाचन अभियन्ता मात्र नभएर खबरदारीकर्ता पनि भएको बताए ।
पाका अभिनेता हरिहर शर्माले दूरदराजका गाउँमा अहिले पनि मतदाता शिक्षा पुग्न नसकेको भन्दै आयोगको ध्यानाकर्षण गराए । गायक सपुतले निर्वाचनबारे आफूले सक्दो मद्दत गर्ने बताए ।
दीपक आचार्य ‘काकु’ले बढी हेरिने टीभी सिरिजबाट पनि निर्वाचनबारे प्रचारप्रसार गर्नुपर्ने बताए । अन्तरक्रियामा आयोगका पदाधिकारी र आयुक्तहरु सहभागी थिए ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्