काठमाडौं — टीओबी समूहका सदस्य तेन्जिङ दावा लामाको नागरिकता र जन्मदर्ता प्रमाणपत्र शंकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान सुरु गरेको छ। हाल प्रहरी हिरासतमा रहेका लामाले काठमाडौं महानगरपालिका–६ बाट प्राप्त भएको भनी जन्मदर्ता र नागरिकता देखाए पनि ती कागजात महानगरपालिकाको अभिलेख (ढड्डा) मा फेला परेका छैनन्।
काठमाडौं महानगरपालिका–६ का वडाध्यक्ष भुवन लामाका अनुसार, तेन्जिङले दिएको विवरण अनुसारको कुनै पनि अभिलेख वडा कार्यालयमा भेटिएको छैन। “हामीले ढड्डामा केही भेटेनौं,” वडाध्यक्ष लामाले अनलाइनखबरसँग भने, “त्यसैले प्रहरीलाई पत्र पठाउँदैछौं।”
तेन्जिङको जन्मदर्ता वि.सं. २०६३ चैत १० मा र नागरिकता २०७९ साल असारमा जारी भएको कागजमा उल्लेख गरिएको छ। तर, यी दुवै अभिलेख पुष्टि हुन नसकेको प्रहरी स्रोतले जानकारी दिएको छ।
तेन्जिङलाई केही समयअघि सामाजिक सञ्जालमा भाइरल भएको भिडियोका आधारमा प्रहरीले अनुसन्धानमा ल्याएको हो। भिडियोमा उनी ‘टीओबी’ लेखिएको ज्याकेट लगाई कम्मरको पछाडि पेस्तोलजस्तो देखिने हतियार बोकेर देखिन्छन्। उक्त भिडियो करिब एक वर्ष पुरानो भएको र त्यही क्रममा प्रयोग गरिएको हतियार नक्कली पेस्तोल भएको प्रहरीको दाबी छ।
तेन्जिङले उक्त हतियार देखाएर आम जनमानसमा डर र त्रास फैलाउने खालको अभद्र व्यवहार देखाएको आरोपमा अनुसन्धान अघि बढाइएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस विषयमा अनुसन्धान गर्न ६ दिनको म्याद दिएको छ।
यसअघि, जेनजी आन्दोलनका क्रममा टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्ति पेस्तोलसहित देखिएको विषयले सामाजिक सञ्जालमा चर्चा पाएको थियो। घटनापछि प्रहरी खोजीमा लागेपछि तेन्जिङ आफैं प्रहरी समक्ष उपस्थित भएका थिए।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्