ओलीको कटाक्ष : “नागरिकता गोरखाको हो कि मान्छे पनि?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ३१

काठमाडौँ — नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘हामी नेपाल’का संयोजक सुदन गुरुङको नागरिकता र पहिचानप्रति कटाक्ष गरेका छन्। शुक्रबार सम्पन्न एमालेको केन्द्रीय कमिटी बैठकको समापन सत्रमा उनले गुरुङको नाम नलिई टिप्पणी गर्दै भने, “मलाई थाहा छैन, उसको नागरिकता गोरखाको हो कि मान्छे पनि गोरखाको हो?”

हालैको जेनजी आन्दोलन र त्यसमा टिब्टेन ओरिजिनल ब्लड (टीओबी) नामक समूहको संलग्नता देखिएको भन्दै ओलीले सरकार र प्रहरी प्रशासनको भूमिकाप्रति आक्रोश पोखे। उनले भने, “उहाँका मान्छेहरूले हामीलाई पक्रिन खोज्ने, गृहमन्त्रीले उजुरी हाल्न लगाउने, टीओबीहरूले आदेश दिने।”

ओलीले सरकारको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाउँदै भने, “पासपोर्ट रोक्ने? म मेरो जलेको घर हेर्न जान नपाउने? हाम्रो सम्पत्ति जलेको खरानीमाथि प्रधानमन्त्री बन्ने?”

उनले संसद् पुनर्स्थापनाको माग पुनः दोहोर्‍याउँदै आगामी फागुन २१ गतेको प्रस्तावित चुनावमा एमाले सहभागी नहुने संकेतसमेत दिए।

यसैबीच, गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलनमा टीओबीको संलग्नता रहेको आरोप लागेपछि प्रहरीले अनुसन्धान थालेको छ। टीओबीको ज्याकेट लगाई आन्दोलनमा सहभागी भएका तेन्जेङ दावा नामक व्यक्ति २६ असोजमा पक्राउ परेका छन्। उनलाई अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको छ।

तेन्जेन दावाको जन्मदर्ता र नागरिकता प्रमाणपत्रमा कैफियत भेटिएको प्रहरीको भनाइ छ। जन्मदर्ता २०६३ फागुन १० गते शनिबारको दिन दर्ता भएको देखिन्छ, जुन दिन सरकारी कार्यालय बन्द हुने हुँदा प्रमाणपत्रको वैधता प्रश्नमा परेको हो। साथै, प्रमाणपत्रमा ‘नेपाल सरकार’ र ‘श्री ५ को सरकार’ दुवै छाप भेटिएको भन्दै काठमाडौँ प्रहरी परिसरले थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *