भक्तपुर, असोज १४ – दसैँ, तिहार र छठजस्ता प्रमुख चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर भक्तपुरले कडा सुरक्षा योजना लागू गरेको छ।
संभावित आपराधिक गतिविधि नियन्त्रणका लागि भक्तपुरमा २७ वटा क्विक रेस्पोन्स टिम (QRT) परिचालन गरिएको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डिराज रेग्मीका अनुसार मुख्य बजार, चोक, मठमन्दिर, बैंक तथा वित्तीय संस्था लगायतका संवेदनशील क्षेत्रहरूमा विशेष प्रहरी टोली तैनाथ गरिएको छ।
‘कुनै पनि घटनाको खबर प्राप्त भएपछि अधिकतम १० मिनेटभित्र प्रहरी पुग्ने व्यवस्था मिलाइएको छ,’ रेग्मीले जानकारी दिए।
चाडपर्वको समयमा चोरी, पाकेटमार, ठगी, जुवातास, मादक पदार्थ सेवन, लागुऔषध कारोबार, चन्दा असुली र मानव बेचबिखनजस्ता गतिविधि बढ्ने सम्भावनालाई ध्यानमा राख्दै छुट्टाछुट्टै युनिट परिचालन गरिएको छ।
प्रहरीले नियमित गस्ती, एम्बुसिङ, चेक प्वाइन्ट र सरप्राइज चेकजस्ता सुरक्षा उपायहरू पनि अपनाएको छ। साथै, सुरक्षा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ।
प्रहरी परिसर भक्तपुरले सर्वसाधारणलाई चाडपर्वहरू शान्तिपूर्ण, सुरक्षित र खुसीपूर्वक मनाउन अनुरोध समेत गरेको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्