×

शान्तिवाटिका क्षेत्रमा ४ हजार प्रहरी परिचालन

जेष्ठ १६, २०८२ | दाक्सु मिडिया

काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गणतन्त्रको विरोधमा शान्तिवाटिका क्षेत्रमा प्रदर्शन गर्दैछ । बिहीबार मध्यान्ह २ बजेपछि प्रदर्शन गर्ने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँले राप्रपालाई अनुमति दिएको छ ।

नेकपा (एमाले) ले काठमाण्डौँको भृकुटीमण्डपमा प्रदर्शन गरिरहेको छ । नेकपा (एमाले) ले भृकुटीमण्डप र टुँडिखेल क्षेत्रमा झाँकीसहितको सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको छ । दिउँसो २ बजेसम्म एमालेको प्रदर्शन पूरा गर्नुपर्नेछ ।

सुरक्षा चुनौतीका कारण दुई समूहलाई भेट हुन नदिने गरी सुरक्षा रणनीति तय गरिएको जिल्ला सुरक्षा समितिका एक जना अधिकृतले बताएका छन् । राप्रपाले शक्ति प्रदर्शन गर्न खोजेको शान्तिवाटिका क्षेत्रमा ४ हजार प्रहरी परिचालन गर्ने गरी सुरक्षा रणनीति तयार गरिएको छ ।

सुरक्षामा खटिएका सशस्त्रको संख्या सार्वजनिक गरिएको छैन । प्रहरीले पनि औपचारिक रूपमा सुरक्षाकर्मीको संख्या सार्वजनिक गरेको छैन ।

समाचार तयार गर्दासम्म राप्रपाका समर्थकहरू सिफल क्षेत्रमा भेला हुन थालेका छन् । प्रदर्शन केन्द्रित ट्राफिक व्यवस्थापनका लागी करिब ८ सय ट्राफिक प्रहरी परिचालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले बताएका छन् ।

प्रदर्शन सुरु भएसँगै आवश्यकता अनुसार सवारी डाइभर्ट गरिने गिरीले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: