एनभीएलले बढायो नेपाली भलिबलको क्रेज, कोर्टदेखि दर्शकदीर्घासम्म उत्साह

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २४

काठमाडौं । दिउँसो ३ बज्न नपाउँदै त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा दर्शकको चहलपहल सुरु हुन्छ। टिकट बोकेर कभर्डहल पुग्ने दर्शक खेल सुरु भएसँगै खेलाडीको हरेक स्पाइक, ब्लक र सर्भिसमा उत्साहित हुँदै हुटिङ र नाराबाजी गर्न थाल्छन्।

नेपालको पुरुष भलिबलमा पहिलोपटक आयोजना भइरहेको फ्रेन्चाइज प्रतियोगिता नेपाल भलिबल लिग (एनभीएल) ले नेपाली भलिबलको क्रेज बढाएको छ। कोर्टमा हुने रोमाञ्चक प्रतिस्पर्धासँगै खेलाडी र टोलीप्रतिको दर्शकको आकर्षण पनि बढ्दै गएको छ।

एनभीएलमा नेपाली खेलाडीसँगै विदेशी खेलाडीको सहभागिताले प्रतियोगितालाई थप आकर्षक बनाएको छ। राष्ट्रिय टोली तथा घरेलु प्रतियोगिता हेर्दै आएका दर्शक अहिले आफूलाई मन परेको फ्रेन्चाइज टोली र खेलाडीको समर्थक बनेका छन्।

केडिया ग्रुपको आयोजनामा भइरहेको लिगमा ६ फ्रेन्चाइज टोली प्रतिस्पर्धामा छन्। आधाभन्दा बढी खेल सकिँदा शीर्ष स्थान र फाइनल पुग्ने टोलीको टुंगो अझै रोचक बन्दै गएको छ। हरेक खेलमा बढ्दो प्रतिस्पर्धाका कारण नतिजा अनुमान गर्नसमेत कठिन भइरहेको छ।

रसुवा बाढीपछि देश शोकमा रहेका बेला एनभीएल आयोजना गर्नु आयोजकका लागि चुनौतीपूर्ण भए पनि प्रतियोगितामार्फत सकारात्मक सन्देश दिने उद्देश्यले निर्धारित मितिमै लिग सञ्चालन गरिएको आयोजकले जनाएको छ।

लिगको पहिलो दिनका दुई खेलको टिकट बिक्रीबाट प्राप्त ५ लाख ९० हजार ११० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको एनभीएलका सीओओ विकास खेतानले जानकारी दिए। यस्तै, केडिया परिवारले पनि उक्त कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ।

आयोजकले दर्शकको उत्साहजनक सहभागिताले प्रतियोगिता अपेक्षाभन्दा राम्रो भइरहेको जनाएको छ। एनभीएलले नेपाली भलिबललाई खेलमैदानबाट बाहिरसम्म नयाँ दर्शक र समर्थकसँग जोड्न सफल भएको देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *