हङकङ सिक्सेसमा नेपाली टोलीको घोषणा, शरदले कप्तानी गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २

काठमाण्डौँ । हङकङ क्रिकेट संघको आयोजनामा आगामी नोभेम्बर ७ देखि ९ सम्म हङकङमा आयोजना हुने हङकङ क्रिकेट सिक्सेस २०२५ का लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार भेट्रान क्रिकेटर शरद भेषावकरको कप्तानीमा ७ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा शरदसँगै यसअघि कप्तानी गरेका सन्दीप जोरा, लोकेश बम, मोहम्मद आदिल आलम, बसिर अहमद, रुपेश सिंह र राशिद खान छन् ।

यस्तै यस प्रतियोगितामा खेलेपछि शरदले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने पनि क्यानले जानकारी दिएको छ ।

हङकङ क्रिकेट सिक्सेसमा नेपाल पोल ‘ए’मा परेको छ । यस पोलमा नेपालसँगै दक्षिण अफ्रिका र अफगानिस्तान सामेल छन् ।

प्रतियोगिता नोभेम्बर ७ देखि ९ सम्म टिन क्वोङ रोड रिक्रिएसन ग्राउन्डमा आयोजना हुनेछ । सहभागि १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

पोल ‘बी’मा अस्ट्रेलिया, इङ्ग्ल्यान्ड र यूएई छन् भने पोल ‘सी’मा भारत, पाकिस्तान र कुवेत तथा पोल ‘डी’मा श्रीलंका, बंगलादेश र हङकङ सामेल छन् ।

यस प्रतियोगिताको हरेक खेल ६(६ ओभरको हुनेछ भने एक टिममा ६ खेलाडी खेल्न पाउनेछन् ।

एक इनिङमा चार खेलाडीले बढीमा १ ओभर बलिङ गर्न पाउनेछन् भने एक खेलाडीले २ ओभर बलिङ गर्न पाउँछन् ।

सन् १९९३ देखि सुरु भएको हङकङ सिक्सेस प्रतियोगिता पछिल्लो पटक सन् २०२४ मा आयोजना भएको थियो जहाँ श्रीलंकाले उपाधि जितेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *