काठमाण्डौँ । बंगलादेशले साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपालविरुद्ध बुधबार माल्दिभ्समा हुने खेलअघि कुनै पनि चुनौती सामना गर्न तयार रहेको जनाएको छ ।
मुख्य प्रशिक्षक मार्क कोक्सले आफ्नो टोली फाइनल पुग्नेमा विश्वस्त रहेको बताउँदै पेनाल्टी सुटआउटसम्म सामना गर्न तयार रहेको जानकारी दिएका हुन् ।
बंगलादेशले प्रतियोगिताको सुरुआत पाकिस्तानलाई २–० ले हराउँदै गरेको थियो भने भारतसँग १–१ को बराबरी खेलेको थियो । समूहमा दोस्रो हुँदै बंगलादेश समूह ‘बी’बाट सेमिफाइनलमा पुगेको हो । नेपालले भने समूह ‘ए’मा भुटानलाई २–१ र श्रीलंकालाई १–० ले हराएको हो ।
आयोजक माल्दिभ्ससँग भने १–१ को बराबरी खेलेको थियो । योसँगै यी दुई टोली भिड्ने पक्का भएको हो। सन् २०२४ मा उपाधि जित्ने क्रममा बंगलादेशले नेपाललाई ४–१ ले हराएको थियो ।
माल्दिभ्सविरुद्ध बल अगाडि बढाउँदै नेपाली फरवार्ड सुवास बम तस्बिर साफ
यो उमेर समूहमा बंगलादेशले जितेको एकमात्र उपाधि हो। रोनान डेक्लानको उत्कृष्ट प्रदर्शन र गोलका बाबजुद बंगलादेशको खेल अहिलेसम्म केही अस्थिर देखिएको छ।
टोली छनोट र खेल शैलीलाई लिएर प्रशिक्षक कोक्सले आलोचना पनि सामना गर्नुपरेको छ। तर, महत्त्वपूर्ण खेलअघि उनले आफ्नो रणनीतिबारे धेरै खुलाउन चाहेनन् ।
‘हामीसँग रहेका २२ खेलाडीमध्ये प्रत्येकमाथि मलाई पूर्ण विश्वास छ। खेलको अवस्थाअनुसार हामी सबै विकल्प विचार गर्नेछौं,’ कोक्सले भने।
उक्त खेल ३स्४५ बजे सुरु हुनेछ। त्यसपछि दिनको दोस्रो सेमिफाइनलमा भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्