काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी, ऊर्जा सहकार्य र पूर्वाधार विकासका विषयमा छलफल हुने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज भारत प्रस्थान गर्न लागेका प्रधानमन्त्री शाहले सोमबार भारतीय समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । वार्तामा दुई देशबीच आर्थिक सहकार्य विस्तार, ऊर्जा क्षेत्रका परियोजना र सम्पर्क सञ्जाल विकासलाई प्राथमिकता दिइनेछ ।
भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य गर्ने विषयमा समेत छलफल हुनेछ । यी क्षेत्रसँग सम्बन्धित विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने तयारी छ ।
त्यस्तै, नेपाल–भारतबीच सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ ।
प्रधानमन्त्री शाहले भारतमा लगानी आकर्षित गर्ने उद्देश्यले आयोजना हुने नेपाल–भारत बिजनेस फोरमलाई सम्बोधन गर्नेछन् । कार्यक्रममा भारतीय व्यवसायीलाई नेपालमा लगानीका अवसर र सरकारले अवलम्बन गरेका नीतिबारे जानकारी गराइनेछ ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् भने भारतीय विदेशमन्त्री एस जयशङ्करले पनि उनीसँग भेट गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री शाहको टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार सहभागी हुनेछन् । दुईदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ ६ बजेर ३५ मिनेटमा नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किने कार्यक्रम छ ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्