एनपिएल प्लेअफमा उपाधिका लागि चार टोलीबीच रस्साकस्सी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २१

काठमाण्डौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अब आफ्नो निर्णायक चरणमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा जारी लिग चरणका खेलहरू सकिएसँगै उपाधि दौडमा चार टोलीको समीकरण स्पष्ट भएको छ ।

प्लेअफ समीकरण पूरा भइसक्दा १२ अङ्कसहित सुदूरपश्चिम रोयल्स शीर्ष स्थान, १० अङ्कसहित विराटनगरले किङ्ग्स दोस्रो स्थानमा, १० अङ्क बटुलेको काठमाडौं गोर्खाज तेस्रो र आठ अङ्क जोडेर लुम्बिनी लायन्सले प्लेअफमा सुरक्षित स्थान बनाएका हुन् । साविक विजेता जनकपुर बोल्ट्स लिग चरणबाटै बाहिरिनुले यस पटकको प्रतियोगिता कति प्रतिस्पर्धात्मक छ भन्ने पुष्टि गरेको छ ।

पहिलो क्वालिफायरमा : सुदूरपश्चिम र विराटनगर भिड्दै

अङ्क तालिकाको शीर्ष दुई स्थान कब्जा गरेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबिचको पहिलो क्वालिफायर खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । मङ्सिर २३ गते हुने यो खेलको विजेता सिधै फाइनलमा पुग्नेछ ।

दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्स प्रतियोगिताकै सबैभन्दा सन्तुलित टोली देखिएको छ । लिग चरणमा १२ अङ्क जोड्दै शीर्ष स्थानमा रहेको सुदूरपश्चिम कुनै एक खेलाडीमा निर्भर छैन । लिगमा लगातार छ खेल जितेको सुदूरपश्चिम अन्तिम खेलमा विराटनगरसँग हारे पनि आफ्नो लय कायमै राख्ने दाउमा छ।

अर्कोतर्फ, सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्ग्सले गत संस्करणको खराब प्रदर्शनलाई बिर्साउँदै यस पटक सान्दार पुनरागमन गरेको छ । दोस्रो स्थानमा रहेको विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई नै हराएकाले उनीहरूको मनोबल उच्च छ।

लोकेश बम, मर्चेन्ट डे लाङ्गे, बसिर अहमद र फाफ डु प्लेसिस जस्ता खेलाडीको प्रदर्शन तथा कप्तान लामिछानेको नेतृत्वदायी भूमिका विराटनगरको मुख्य अस्त्र हो । लिग चरणका सुरुका तीन खेल जितेर शानदार सुरुआत गरेको विराटनगरले चौथो र छैटौं खेलमा भने हार बेहोर्नु परेको थियो ।

इलिमिनेटर : काठमाडौं र लुम्बिनीका लागि ‘अग्निपरीक्षा’

यता, अङ्क तालिकाको तेस्रो र चौथो स्थानमा रहेका काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबिचको इलिमिनेटर खेल मङ्सिर २४ गते हुने छ । यो खेल हार्ने टोलीका लागि यात्रा समाप्त हुनेछ ।

लिग चरणका सातमध्ये पाँच खेल जितेर प्लेअफमा पुगेको काठमाडौं गोर्खाज करण केसीको कप्तानीमा पहिलो पटक प्लेअफ खेल्दै छ । सुरुवाती चरणमा उतारचढाव ब्यहोरे पनि पछिल्ला खेलहरूमा उत्कृष्ट लय समातेको काठमाडौं यस पटक च्याम्पियन बन्ने लक्ष्यमा दृढ देखिन्छ ।

यसैगरी, रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सको यात्रा निकै नाटकीय रह्यो । बिचमा लगातार तीन खेल हारेर दबाबमा परेको लुम्बिनीले अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै ८ अङ्कका साथ प्लेअफमा स्थान बनायो ।

प्लेअफ यात्रा र तालिका

पहिलो क्वालिफायरमा हार्ने टोलीले तत्काल घर जानुपर्ने छैन । उसले फाइनल प्रवेशका लागि इलिमिनेटर काठमाडौं र लुम्बिनीबिचको खेलको विजेतासँग दोस्रो क्वालिफायर मङ्सिर २५ गते खेल्ने मौका पाउनेछ । अन्ततः मङ्सिर २७ गते हुने फाइनल खेलले दोस्रो संस्करणको एनपिएलले विजयता प्राप्त गर्नेछ ।

गत वर्ष फाइनलमा चुकेको सुदूरपश्चिम यस पटक ट्रफी उचाल्न आतुर छ भने विराटनगर, काठमाडौं र लुम्बिनी पनि पहिलो पटक उपाधि जित्दै इतिहास रच्ने दौडमा छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *