
सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकामा आयोजित चौथो संस्करणको राष्ट्रिय विभूति पासाङल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगितामा पुरुषतर्फ सोताङ गाउँपालिका (ए) टिम र महिलातर्फ माप्य दुधकोशी गाउँपालिका (ए) ले उपाधि हात पारेको छ ।
पुरुषतर्फ माप्य दुधकोशी गाउँपालिका दोस्रो र पाहिला पाहिलाको आशा टिम तेस्रो स्थानमा रहन सफल भएका छन् । यस्तै महिलातर्फ महाकुलुङ गाउँपालिका दोस्रो भएको छ भने तेस्रो स्थान माप्य दुधकोशीकै टिमले प्राप्त गरेको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका र ग्रीनतारा टोल विकास संस्थाको संयुक्त आयोजनामा सम्पन्न तीनदिने जिल्लास्तरीय प्रतियोगिता जेठ ८ देखि १० गतेसम्म सञ्चालन भएको थियो ।
खेलकुदको विकास, राष्ट्रिय विभूति पासाङल्हामु शेर्पाप्रतिको सम्मान, र नवयुवामा खेलप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा जिल्लाका विभिन्न पालिकाबाट पुरुष तर्फ ६ र महिला तर्फ ३ टिमले सहभागिता जनाएका थिए ।
विजेता टिमलाई नगद १ लाख ३२ हजार रुपैयाँ, उपविजेतालाई ७५ हजार ३२ रुपैयाँ र तेस्रो हुनेलाई ५० हजार ३२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाले जानकारी दिनुभयो । प्रतियोगिता सफल बनाउनमा आर्थिक सहयोग पुर्याउने पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान र शिल्क हाइड्रोपावर प्रति आयोजकले विशेष धन्यवाद प्रकट गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया