त्रिपुरेश्वर बस आगजनी घटनामा तत्काल छानबिन गर्न निर्देशन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ८

काठमाडौँ । त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक जलेर मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन संसदीय समितिले तत्काल छानबिन समिति गठन गर्न निर्देशन दिएको छ।

प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, सदस्य धनेन्द्र कार्की र उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेबिच भएको छलफलमा यस्तो निर्देशन दिइएको हो।

सभापति गजुरेलले घटनाको वास्तविक कारण र परिस्थितिबारे निष्पक्ष अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन सार्वजनिक गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।

छलफलमा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सडक यातायातलाई थप सुरक्षित र व्यवस्थित बनाउने विषयमा पनि छलफल भएको थियो। समितिले ‘जिरो ट्राफिक’ व्यवस्थापनको अवधारणालाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएको छ।

त्यसैगरी ट्राफिक प्रहरीको सेवा प्रवाहलाई मर्यादित बनाउन व्यवहारमा नम्रता, बोलीमा शुद्धता र आर्थिक कारोबारमा पारदर्शिता कायम गर्न निर्देशन दिइएको छ। सडकमा खटिने प्रहरीको मानसिक स्वास्थ्यलाई ध्यान दिँदै मनोवैज्ञानिक कक्षा तथा परामर्श कार्यक्रम सञ्चालन गर्न पनि सुझाव दिइएको छ।

एसएसपी काफ्लेले उपत्यकाका सडकमा दैनिक १५ लाखभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेको जानकारी दिए। ती सवारीसाधन व्यवस्थापनका लागि करिब १ हजार ३ सय ट्राफिक प्रहरी मात्र परिचालन रहेको उनले बताए।

सीमित जनशक्ति र बढ्दो सवारी चापलाई ध्यानमा राख्दै ट्राफिक व्यवस्थापन प्रणालीलाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाउनुपर्नेमा छलफलमा जोड दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *