काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनका लागि ५६ जिल्लामा संयोजक तोकेको छ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले सात प्रदेशमध्ये छ प्रदेशका ५६ जिल्लामा संयोजक तोकेको हो।
समितिका अनुसार कोशीका ९, बागमतीका ११, गण्डकीका ८, लुम्बिनीका १२, कर्णालीका ८ र सुदूरपश्चिमका ८ जिल्लामा संयोजक तोकिएका छन्। मधेश प्रदेशका कुनै पनि जिल्लामा भने संयोजक तोकिएको छैन।
कोशीका ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, सुनसरी र सोलुखुम्बुमा संयोजक तोक्न बाँकी छ। बागमतीका सिन्धुली र काभ्रेपलाञ्चोक तथा गण्डकीका तनहुँ, मुस्ताङ र स्याङ्जामा पनि संयोजक चयन हुन बाँकी छ।
त्यस्तै, कर्णालीका रुकुम पश्चिम र सल्यान तथा सुदूरपश्चिमको अछाममा संयोजक तोक्न बाँकी रहेको जनाइएको छ।
कोइरालाको संयोजकत्वमा रहेको समितिले असोज १५ गते वडा अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। कार्यतालिकाअनुसार आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन हुने बताइएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्