काठमाडौं । आगामी दशैं, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै सरकारले सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने भएको छ ।
यातायात व्यवस्था विभागले सरोकारवालालाई पठाएको १५ बुँदे निर्णयमा अग्रिम टिकट बुकिङको व्यवस्था गर्ने उल्लेख गरेको हो । तर बुकिङ कहिलेदेखि खुलाउने भन्ने मिति भने विभागले अझै तय गरेको छैन ।
विभागले सार्वजनिक यातायात व्यवसायीलाई सम्भव भएसम्म अनलाइन टिकट बुकिङको व्यवस्था गर्न तथा यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्न निर्देशन दिएको छ ।
टिकट बिक्री गर्ने कर्मचारीका लागि अनिवार्य परिचयपत्रको व्यवस्था गर्नुपर्ने तथा अनधिकृत काउन्टर र परिचयपत्र वा पोशाक नभएका व्यक्तिबाट टिकट बिक्री रोक्न विभागले निर्देशन दिएको छ ।
चाडपर्वका बेला उपत्यकाबाट बाहिरिने तथा भित्रिने यात्रुवाहक सवारीको प्रभावकारी अनुगमन गर्न यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल रेल्वे कम्पनीलगायत निकायसँग समन्वय गरिनेछ ।
विभागले यात्रुलाई आधिकारिक काउन्टर वा परिचयपत्र भएका कर्मचारीबाट मात्र टिकट लिन र टिकट लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ ।
त्यस्तै, मुख्य सडक तथा राजमार्गको नियमित निरीक्षण, आवश्यक मर्मत, पहिरो नियन्त्रण तथा ट्राफिक व्यवस्थापनमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।
लामो दूरीका यात्रुवाहक सवारीमा कम्तीमा दुई चालक राख्नुपर्ने, गन्तव्यतर्फ प्रस्थान गर्नुअघि सवारीको यान्त्रिक परीक्षण गर्नुपर्ने तथा चालकको मापसे र लापसे परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ ।
मापसे वा लापसे गरेको पाइएमा सम्बन्धित व्यवसायीले अर्को चालकको व्यवस्था गर्नुपर्नेछ । साथै, १८ वर्ष उमेर नपुगेका बालबालिकालाई चालक वा अन्य काममा नलगाउन विभागले निर्देशन दिएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्