विराटनगर । प्रहरीले सुनसरीको इटहरीबाट गाँजा लोड गरिएको एम्बुलेन्स बरामद गरेको छ ।
कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२०, तरहरास्थित पानीपिया जंगल नजिकबाट प्रहरीले ४५० किलो गाँजा बरामद गरेको हो ।
मंगलबार राति करिब साढे ११ बजे बा २ च ९५७३ नम्बरको त्रिवेणी सांस्कृतिक समूहको एम्बुलेन्सलाई प्रहरीले रोक्न खोज्दा चालकले भगाएका थिए । प्रहरीले पिछा गरेपछि चालकले एम्बुलेन्स छाडेर फरार भएका थिए ।
प्रहरीले एम्बुलेन्सभित्र प्लास्टिकका पोकामा राखिएको अवस्थामा गाँजा फेला पारेको जनाएको छ । एम्बुलेन्स र बरामद गाँजा इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ ।
एम्बुलेन्सबाट गाँजा बरामद भएको यो पहिलो घटना भने होइन । यसअघि पनि कोशी प्रदेशका विभिन्न स्थानमा एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद हुँदै आएको छ ।
गत २९ वैशाखमा धरानबाट को १ च ७३५९ नम्बरको एम्बुलेन्सबाट ४४९ किलो गाँजा बरामद भएको थियो । त्यस्तै, २१ वैशाखमा सुनसरीको बराहक्षेत्रबाट भारतीय नम्बर प्लेटको एम्बुलेन्सबाट १४८ किलो गाँजा बरामद भएको थियो ।
यसैगरी, १३ पुस २०८२ मा केराबारीबाट ५२१ किलो, २७ पुसमा साँगुरीगढीबाट ४५१ किलो र गत १९ कात्तिकमा जहदाबाट ३३ किलो ६१० ग्राम गाँजा एम्बुलेन्सबाट बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा मात्रै कोशी प्रदेशमा ६४ हजार ७९६ किलोभन्दा बढी गाँजा बरामद भएको छ । आर्थिक वर्ष २०८०/८१ मा १० हजार ४२० किलो, २०८१/८२ मा २६ हजार ७०५ किलो र २०८२/८३ मा २७ हजार ६७१ किलो गाँजा बरामद भएको तथ्यांक छ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्