श्रम स्वीकृतिबिनै उडाइएका यात्रु प्रकरणमा अध्यागमन अधिकृत तानिए

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ७

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रम स्वीकृतिबिनै वैदेशिक रोजगारीमा जान लागेका यात्रुलाई सेटिङमा उडाएको प्रकरणमा विमानस्थलस्थित अध्यागमन कार्यालयका एक अधिकृत विभागमा तानिएका छन्।

असोज ५ गते कुवेत जान लागेका एक यात्रुलाई आवश्यक श्रम स्वीकृति नहुँदा पनि गैरकानुनी रूपमा प्रस्थान अनुमति दिएको पाइएपछि अध्यागमन अधिकृत चेतबहादुर सेजुवालमाथि अनुसन्धान अघि बढाइएको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा यात्रु विमानस्थलबाट उडिसकेपछि मात्रै वैदेशिक रोजगार विभागको प्रणालीमा श्रम स्वीकृतिको प्रक्रिया अघि बढाइएको भेटिएको छ। अध्यागमन विभागको ‘नेपाली पोर्ट प्रणाली’ तथा विमानस्थलको सीसीटीभी फुटेजबाट घटनाबारे प्रारम्भिक विवरण खुलेको विभागले जनाएको छ।

असोज ५ गते बिहान करिब ६ः३० बजे अध्यागमन क्षेत्रमा प्रवेश गरेका ती यात्रुले श्रम स्वीकृति नभए पनि अध्यागमन डेस्कमा करिब आधा घण्टा बिताएका थिए। त्यस क्रममा तेस्रो व्यक्तिसँग सम्पर्क गरी सेटिङ मिलाइएको र बिहान ७ः१० बजे प्रस्थान अनुमति दिइएको प्रारम्भिक छानबिनबाट खुलेको छ।

यात्रुलाई डिपार्चर अनुमति दिलाउन एक बिचौलियाको समेत भूमिका देखिएको छ। अध्यागमन विभागका निर्देशक टीकाराम ढकालका अनुसार जापानमा रहेका एक व्यक्तिले क्यूआरमार्फत बिचौलियालाई २३ हजार रुपैयाँ पठाएको र रकम आएको यकिन भएपछि अधिकृत सेजुवालले प्रस्थान अनुमति दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनामा विमानस्थलमा कार्यरत अध्यागमन अधिकृतको प्रत्यक्ष संलग्नता देखिएको प्रारम्भिक निष्कर्षपछि विस्तृत अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखेर पठाइएको निर्देशक ढकालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *