रास्वपाको मधेश अधिवेशन अन्योलमा, तत्काल हुने सम्भावना न्यून

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेश प्रदेशका जिल्ला तथा प्रदेश अधिवेशन अन्योलमा परेको छ।

सांगठनिक अवस्था र कार्यसम्पादन अडिट गर्न पार्टीले केन्द्रीय नेताहरू सम्मिलित कार्यदल मधेश पठाए पनि अधिवेशनको मिति अझै निश्चित हुन सकेको छैन।

सहमहामन्त्री हरि ढकालको नेतृत्वमा संगठन विभाग प्रमुख प्रमोद न्यौपाने, प्रवक्ता जगदीश खरेल, सहप्रवक्ता सुरेन्द्र चौधरी तथा नेताहरू अशोककुमार चौधरी र पुनम अग्रवाल सम्मिलित टोलीले मधेशका आठै जिल्लामा पुगेर स्थानीय नेता–कार्यकर्तासँग छलफल गरेको थियो।

कार्यदलले पालिका, क्षेत्र, जिल्ला र प्रदेश तहका संगठनको अवस्था तथा आन्तरिक विवादबारे जानकारी संकलन गरेको छ। मधेशबाट संघीय संसद् र केन्द्रीय समितिमा रहेका नेताहरूसँग समेत छलफल गरेपछि विस्तृत प्रतिवेदन बुझाउने तयारी छ।

कार्यदलले प्रारम्भिक प्रतिवेदन पार्टी सचिवालयमा पेस गरिसकेको छ। विस्तृत प्रतिवेदन आएपछि मात्रै मधेशको संगठन र अधिवेशनबारे थप निर्णय गर्ने सचिवालयले जनाएको छ।

सदस्यता तथा प्रतिनिधि विवादका कारण रास्वपाले मधेशका सात जिल्लामा अधिवेशन नगरी केन्द्रीय महाधिवेशन गरेको थियो। मधेश प्रदेश समितिको समेत अधिवेशन हुन सकेको छैन। आठ जिल्लामध्ये पर्सामा मात्रै नयाँ नेतृत्व चयन भएको छ।

कार्यदल सदस्य एवं सांसद पुनम अग्रवालले तत्काल मधेशमा अधिवेशन हुने सम्भावना नरहेको बताइन्। उनका अनुसार विस्तृत प्रतिवेदनपछि पार्टीले आवश्यक निर्णय गर्नेछ।

कार्यदलको अध्ययनका क्रममा केही स्थानमा भइसकेका अधिवेशनसमेत रद्द गर्नुपर्ने सुझाव आएको छ। महाधिवेशनका प्रतिनिधि बनाउने उद्देश्यले आफूखुसी सदस्यता वितरण गरिएको र आफूअनुकूल व्यक्तिलाई संगठनमा जिम्मेवारी दिइएको गुनासो कार्यकर्ताले कार्यदलसमक्ष राखेका थिए।

विधि उल्लंघन गरेर भएका अधिवेशन रद्द गरी स्थानीय तहको निर्वाचनसम्म तदर्थ समितिमार्फत संगठन सञ्चालन गर्ने विकल्पबारे समेत छलफल भइरहेको छ।

मधेशमा अधिवेशन ढिलाइ हुनुमा गुटबन्दी, सांसदको हस्तक्षेप, फरक–फरक दलबाट आएका नेताहरूबीचको प्रतिस्पर्धालगायत कारण औंल्याइएको छ।

यसैबीच, आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरेर संगठनमा देखिएको आन्तरिक प्रतिस्पर्धाले समेत अधिवेशन प्रक्रियालाई प्रभावित गरेको कार्यदलको बुझाइ छ। रास्वपाले स्थानीय तहका उम्मेदवार छनोटका लागि प्राइमरी इलेक्सनको व्यवस्था गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *