आगजनीपछि भाटभटेनी टंगाल पुनः सञ्चालनमा, ‘खरानीबाट फेरि उठ्यौं’

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ५

काठमाडौं । गत वर्ष भदौ २४ गतेको आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भाटभटेनी सुपरमार्केटको टंगाल शाखा सोमबारदेखि पुनः सञ्चालनमा आएको छ ।

मर्मत तथा पुनर्निर्माण सम्पन्न भएपछि बिहान १० बजेदेखि स्टोर ग्राहकका लागि खुला गरिएको हो । स्टोरको उद्घाटन भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले गरेका हुन् ।

गुरुङका अनुसार आन्दोलनका क्रममा देशभर भाटभटेनीका १२ वटा स्टोरमा क्षति पुगेको थियो । तीमध्ये टंगालसहित १० वटा पुनः सञ्चालनमा आइसकेका छन् भने दमक र हेटौंडा शाखाको पुनर्निर्माण अन्तिम चरणमा छ ।

पुनर्निर्माणका क्रममा आफूले ठूलो चुनौती सामना गरेको बताउँदै गुरुङले ‘खरानीबाट फेरि उठ्ने’ अठोटका साथ अघि बढेको बताए । उनले भाटभटेनीलाई आफ्नो व्यक्तिगत सम्पत्ति मात्र नभई देशको सम्पत्ति भएको उल्लेख गर्दै निजी क्षेत्र र व्यवसायको सुरक्षाका लागि राज्य गम्भीर हुनुपर्ने धारणा राखे ।

टंगाल शाखा खुलेसँगै बिहानैदेखि ग्राहकको भीड लागेको थियो । लामो समय स्टोर बन्द हुँदा दैनिक किनमेलमा समस्या भएको बताउँदै ग्राहकहरूले पुनः सञ्चालनमा आएपछि खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

भाटभटेनीले टंगाल शाखाबाट ग्राहकलाई आधुनिक सेवा, गुणस्तरीय सामग्री र नियमित अफर उपलब्ध गराउने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *