काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई चुनावका क्रममा गरेका प्रतिबद्धता पूरा गर्न दबाबमूलक अभियान सञ्चालन गर्ने भएको छ ।
आइतबारदेखि जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अध्यक्ष महतोले पेस गरेको राजनीतिक प्रतिवेदनमा सङ्घीयताको पूर्ण कार्यान्वयन, प्रहरी समायोजन, निजामती ऐन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब दिने उल्लेख छ ।
‘प्रधानमन्त्रीज्यू, बाचा पूरा गर्नुस् !’ भन्ने नारासहित प्रदेश राजधानी र काठमाडौंको माइतीघर मण्डलामा सांकेतिक प्रदर्शन गर्ने पार्टीको तयारी छ । माग पूरा नभए प्रदेश सभा र सङ्घीय संसद् घेराउसम्मका कार्यक्रम अघि बढाउने प्रतिवेदनमा उल्लेख छ ।
पार्टीले स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा हुनुपर्ने मागसमेत अघि सारेको छ । यसका लागि देशव्यापी अभियान सञ्चालन गर्ने तथा स्थानीय तहलाई नागरिक केन्द्रित बनाउन संवैधानिक र कानुनी संशोधनको माग गर्ने जनाएको छ ।
त्यस्तै, चुरे संरक्षणका लागि ‘चुरे बचाउ, मधेस र जीवन जोगाउ’ अभियान सञ्चालन गर्ने, डिजिटल प्लेटफर्ममार्फत युवालाई जोड्न ‘डिजिटल भोलेन्टियर्स’ गठन गर्ने र विभिन्न समुदायसँग संवाद तथा सहकार्य अघि बढाउने प्रस्ताव पनि प्रतिवेदनमा समेटिएको छ । कार्यकारिणी समितिको बैठकमा अध्यक्ष महतोको राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्