कृष्णभिरको दीर्घकालीन समाधान : सुरुङ वा भायोडक्ट बनाउने तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ५

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभिरमा पहिरो तथा सडक अवरोधको दीर्घकालीन समाधानका लागि सुरुङ वा भायोडक्ट निर्माण गर्ने विकल्पमा अध्ययन सुरु भएको छ ।

सडक विभागका महानिर्देशक डा. विजय जैशीले सोमबार पूर्वाधार विकास समितिको बैठकमा प्राविधिक अध्ययन सुरु भइसकेको जानकारी दिएका हुन् ।

उनका अनुसार कृष्णभिरको भित्री भागबाट सुरुङ निर्माण गर्ने वा अगाडितर्फ पिल्लरमाथि सडक लैजाने भायोडक्ट बनाउने दुई विकल्पमा अध्ययन भइरहेको छ । करिब दुई महिनाभित्र प्राविधिक प्रतिवेदन तयार हुने र त्यसपछि निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइने विभागको तयारी छ ।

यसैबीच तत्कालीन आवागमन सहज बनाउन भत्किएको सडकको माथिबाट ट्र्याक खोलिएको छ । दीर्घकालीन वैकल्पिक मार्गका रूपमा फिस्लिङ र बेनिघाटतर्फ सडक निर्माणको कामसमेत अघि बढाइएको जैशीले बताए ।

फिस्लिङतर्फ करिब १.५ किलोमिटर भिर काट्ने काम सुरु भइसकेको छ । वैकल्पिक सडक बनेपछि पृथ्वी राजमार्गको मुख्य खण्डमा समस्या आए पनि त्यसबाट यातायात सञ्चालन गर्न सकिने विभागको अपेक्षा छ ।

भोटेकोशी–रसुवा बाढीपछि कृष्णभिर खण्डको सडकसमेत क्षतिग्रस्त भएपछि यस क्षेत्रमा यातायात सञ्चालन प्रभावित हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *