काठमाडौं । काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार गर्न ९ वटा स्थानीय तह साझा कार्यक्रममा आबद्ध भएका छन् । काठमाडौं महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरी सेवा विस्तार गर्न स्थानीय तहले समझदारी गरेका हुन् ।
संविधान दिवसका अवसरमा काठमाडौं र ललितपुर महानगरपालिका तथा बूढानीलकण्ठ, गोदावरी, चन्द्रागिरि, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमि नगरपालिकाले साझा यातायातसँग समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
विस्तारित सेवाअन्तर्गत ६ वटा रुटमा ३० वटा बस सञ्चालन हुनेछन् । जगाती–सूर्यविनायक–ठमेलमा ६, लगनखेल–बूढानीलकण्ठ हुँदै गोदावरीमा ६, रिङरोडका दुवै दिशामा ८, कीर्तिपुर–जमलमा ४, टाखेल–ठमेलमा २ तथा नागढुङ्गा–एयरपोर्ट रुटमा ४ वटा बस चलाइनेछ ।
यसअघि लगनखेल–बूढानीलकण्ठ र नागढुङ्गा–एयरपोर्ट रुटमा राति ८ बजेदेखि ११ बजेसम्म ७ वटा बसमार्फत नमुना सेवा सञ्चालन हुँदै आएको थियो ।
रात्रिकालीन सेवाको खर्च टिकटबाट नपुगेको अवस्थामा त्यसको ५० प्रतिशत सम्बन्धित स्थानीय तहले समान रूपमा र बाँकी ५० प्रतिशत काठमाडौं महानगरपालिकासहित अन्य स्थानीय तहले सहमतिअनुसार व्यहोर्ने व्यवस्था गरिएको छ ।
यात्रु चढ्ने र ओर्लने स्थान सम्बन्धित स्थानीय तहले निर्धारण गर्नेछन् । आर्थिक वर्ष २०८३/८४ भित्र डिजिटल बस स्टप र साइनेज बोर्ड निर्माण गर्ने जिम्मेवारी साझा यातायातलाई दिइएको छ ।
चक्रपथमा सेवा विस्तार भएपछि बस परिवर्तन गरेर उपत्यकाका विभिन्न स्थानमा यात्रा गर्न सकिनेछ । यात्रामा अधिकतम ८० रुपैयाँ भाडा लाग्नेछ भने टिकटमा डिजिटल टिकेटिङ प्रणालीमार्फत क्यूआर वा नगद भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्