विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीमा दुई समूहबीचको विवादमा गोली लागेर घाइते भएका युवकको शरीरबाट गोली निकालिएको छ।
शनिबार साँझ गोली लागेर घाइते भएका स्थानीय २४ वर्षीय निरजकुमार यादवको आइतबार बिहान नोबेल मेडिकल कलेज विराटनगरमा शल्यक्रिया गरी गोली निकालिएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार निकालिएको गोली कटुवा पेस्तोलको जस्तो देखिए पनि परीक्षणपछि मात्रै कुन हतियारबाट प्रहार भएको भन्ने यकिन हुनेछ। यादवको कम्मरमुनिको दायाँ भागमा गोली लागेको थियो।
घटनामा संलग्न भएको आरोपमा देवानगन्ज–२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय जयकृष्ण यादव पक्राउ परेका छन्। उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ।
प्रहरीका अनुसार पुरानो रिसिइबी र युवतीको विषयलाई लिएर विवाद भएको प्रारम्भिक जानकारी आएको छ।
यसअघि गत साउन १० गते देवानगन्ज–३ कप्तानगन्जमा दुई समूहबीचको विवादमा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्